रुकुम चौरजाहारी घटनाको निष्पक्ष छानविन गर्न भगवती चौधरीको माग

काठमाडौं । पश्चिम रुकुमको चौरजाहारीमा भएका जातिय विभेदको घटना २१ औं शताब्दीको बर्बर घटना भएको नेकपा नेतृ भगवती चौधरीले बताएकी छिन् । २१ औं शताब्दीमा पनि जातिय कारण देखाएर मानिसको ज्यानै लिने गरी घटना घट्नु निन्दनीय भएको नेतृ चौधरीकाे भनाइ छ ।

‘हाम्रो संविधानले कुनै जाति, वर्ग, समुदायमा विभेद गरेको छैन । तर, रुकुममा कथित तल्लो जाती भन्दै जुन किसिमले केटा पक्षमाथि बर्बर घटना घटाइयो यसले हाम्रो सामाजिक संरचनालाई खल्बल्याउने काम गर्दैछ’, उनले भनिन् ।

चौधरीले रुकुम घटनामा निष्पक्ष छानविनको माग गरेकी छिन् । ‘जातिय विभेदका घटनाले हाम्रो समाजलाई विखण्डित गर्दछ । २१ औं शताब्दीमा कथित दलितको पगरी गुथाएर विभेद गरीनु हुन्न । यो विषयमा राज्यले उच्च स्तरीय छानविन समिति गठन गरेर अनुसन्धान गर्नुपर्छ । दोषिलाई कानुनी कठघरामा उभ्याउनु पर्छ ।’ चौधरीले भनिन् ।

पछिल्लो समय देशका विभिन्न स्थानमा छुवाछुत जस्तो कानुनले बर्जित गरेका घटनाहरु बढिरहेको स्मरण गर्दै राज्यले यस्ता खाले विभेदको अन्त्य गर्न नागरिक सचेतना अभिबृद्धि गर्ने कार्यक्रम ल्याउनु पर्ने, सामाजिक जागरणका अभियान चलाउनु पर्ने बताइन् ।

जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर–८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका जारजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ वर्षिय नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । त्यसबेला केटी लाने पक्ष र केटी पक्षबीच झडप भएको थियो ।

झडपपछि भाग्ने क्रममा नदीमा हाम फालेका नवराज विकको शव भेरी नदीको बीच भागमा फेला परेको छ । उनीसँगै गएका टीकाराम सुनार र गणेश बुढाको पनि शव फेला परेको छ । फेला परेका शवहरु पोष्टमार्टमका लागि जाजरकोट अस्पतालमा राखिएको छ । घटनाका सन्दर्भमा गृहमन्त्री रामबहादुर थापाले हिजो संसदमै जानकारी दिएका थिए । घटनामा हालसम्म फेला नपरेका नपरेकाहरुको खोजी कार्य जारी रहेको गृहमन्त्री थापाले बताए ।

जाजरकोटका वर्ष १८ का लोकेन्द्र सुनार, वर्ष १७ का गोविन्द शाही, वर्ष १७ का सञ्जु विक बेपत्ता रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *