ट्रम्पको ट्वीटमा ट्वीटरको सावधानीः राख्न थाल्यो फ्याक्ट चेक !
काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ट्वीटमा फ्याक्ट चेक सुरु गरेको छ । ट्रम्पले बारम्बार भ्रामक र गलत आरोपसहितको ट्वीट राख्न थालेपछि ट्वीटरले यसको फ्याक्ट चेक सिस्टम लागु गरेको हो ।
ट्रम्पले लगातार ट्वीटरमा आफ्ना विवादास्पद निर्णय सार्वजनिक गर्ने तथा विभिन्न आरोप लगाउँदै आएका छन् । तर अब फ्याक्ट चेक सुरु भएसँगै उनको दाबी अनुसार सम्बन्धित विषयको वास्तविकता पनि ट्वीटरले प्रस्तुत गर्नेछ ।
ट्रम्पले नेपाल समय अनुसार मंगलबार बेलुका गरेको ट्वीटमा पहिलो पटक ट्वीटरले तथ्य–जाँच प्रस्तुत गरेको हो । ट्रम्पले लगातार गलत र भ्रामक जानकारी पोस्ट गर्ने गरेकाले सामाजिक सञ्जाल ट्वीटरले सावधानीको संकेत दिन थालेको हो ।
ट्रम्पले ‘मेल–इन ब्यालट’ अर्थात हुलाक मार्फत् हुने चुनावमा धाँधली बाहेक अरु केही नहुने भन्दै ट्वीट गरेका थिए । ट्वीटरले त्यसको तल हुलाकबाट हुने मतदान सम्बन्धी तथ्य पेश गरेको हो । जसमा हुलाकबाट हुने मतदान पारदर्शी हुने र ट्रम्पको आरोप झुट रहेको उल्लेख छ । ट्वीटरले तथ्य–जाँचलाई चेतावनीको संकेत दिएर राख्छ र त्यसमा क्लिक गरेपछि तथ्या जाँच हेर्न पाइने छ । ट्वीटको ठीक तल आश्चर्यवाचक चिन्ह सहित तथ्य–जाँच राखिएको हुन्छ ।
ट्वीटरले तथ्य–जाँच राख्न थालेपछि ट्रम्पले आक्राेश पाेखेका छन् । उनले लगातार ट्वीट गरेर वाक स्वतन्त्रताको ट्वीटरले हनन् गरेको आरोप लगाएका छन् । एजेन्सी