कोरोना प्रादेशिक अपडेटः सबैभन्दा बढी संक्रमित प्रदेश ५ मा, रुकुम पूर्व पनि अछुताे रहेन !

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको महामारी यतिबेला नेपालका सातै प्रदेशमा प्रवेश गरिसकेको छ । जसमध्ये प्रदेश नम्बर ५ मा सबैभन्दा बढी संक्रमित छन् भने सबैभन्दा कम संक्रमित गण्डकी प्रदेशमा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी गराएको प्रादेशिक विवरण अनुसार प्रदेश नम्बर १ का १४ जिल्लामध्ये ७ वटा जिल्लामा कोरोना प्रवेश गरिसकेको छ । त्यहाँ आजसम्म जम्मा १०३ जना संक्रमित देखिएका छन् ।

त्यस्तै प्रदेश नम्बर २ का ८ वटै जिल्लामा गरी ३२४ जना संक्रमित भेटिएका छन् भने बागमती प्रदेशका १३ जिल्लामध्ये ११ जिल्लामा ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी गण्डकी प्रदेशका ११ जिल्लामध्ये ४ जिल्लामा १३ जना, प्रदेश नम्बर ५ का १२ जिल्लामध्ये ९ जिल्लामा ३६५ जनामा संक्रमण पुष्टि भएको छ । आज रुकुम पूर्वमा ३ जना संक्रमित थपिएसँगै ५ नम्बर प्रदेशको ९ जिल्लामा संक्रमण पुगेको हो ।

कर्णालीका १० जिल्लामध्ये ३ जिल्लामा २५ जना संक्रमित भेटिएका छन् भने सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये ५ जिल्लामा १७ जना संक्रमित फेला परेका छन् । आज थप एक जिल्लामा संक्रमित फेला परेसँगै संक्रमित जिल्लाको संख्या ४७ पुगेको छ ।

यसरी कुल संक्रमितको संख्या ८८६ पुगेको छ । जसमध्ये १८३ जना उपचारपछि निको भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *