के भारतले नियन्त्रणमा लिएको परेवा पाकिस्तानी जासुस नै हो त ?
काठमाडौं । भारत नियन्त्रित जम्मु कश्मिर प्रहरीले पाकिस्तानी जासुस भन्दै एउटा चरालाई नियन्त्रणमा लिएको छ ।
सीमा सुरक्षा बल (बीएसएफ) ले पाकिस्तानबाट आएको एउटा परेवा सोमबार कथुजा जिल्लाको हिरा नगर प्रहरी स्टेसनलाई बुझाएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
सो परेवा आइतबार साँझ ७ बजेतिर सीमा क्षेत्र नजिक चडवाल गाउँमा उडेको थियो । स्थानीय गीता देवीले यसलाई समातेकी थिइन् । नजिकबाट नियाल्दा उनले परेवाको एउटा खुट्टामा औंठीजस्तो देखिन् र गाउँ प्रमुखलाई बुझाइन् । गाउँ प्रमुखले बीएसएफलाई बुझाएको र बीएसएफले प्रहरीलाई बुझाएको भारतीय मिडियाको भनाइ छ ।
यो परेवालाई पाकिस्तानले तालिम दिएर जासुसी गर्न पठाएको दावी एसएसबीले गरेको छ । यता प्रहरीले परेवालाई नियन्त्रणमा राखे पनि अहिलेसम्म यसले कुनै शंकाष्पद क्रियाकलाप नदेखाएको बताएको छ ।
भारत र पाकिस्तान हुँदै डुलेर जासूसी गरेको अभियोगमा परेवा पक्राउ परेको यो पहिलो होइन । २०१५ मा यसैगरी मन्वाल गाउँमा परेवा भेटिएको थियो । यद्यपी चराको एक्स र गर्दा केही शंकास्पद वस्तु भेटिएन ।