संविधान संशोधनको पक्षमा मतदान गर्न आतुर छौँः गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले संविधान संशोधनको पक्षमा मतदान गर्न आतुर रहेको बताएका छन् । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै नेता थापाले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव १६ गतेकै कार्यसूचीमा राख्न पनि अनुरोध गरेका छन् । कांग्रेस संशोधनकै पक्षमा रहेको उनको भनाइ छ ।

उनले लेखेका छन्– ‘संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पर्सी १६गतेकै कार्यसूचीमा राखियोस्।काँग्रेस संशोधनको पक्षमा छ। कसैले चिन्ता नलिऔँ,कोही भ्रममा नपरौँ । केन्द्रीय समितिको बैठक गर्ने/नगर्ने पार्टीको आन्तरिक प्रक्रियाको विषय हो । हामी काँग्रेसका सांसद संविधान संशोधनको पक्षमा मतदान गर्न आतुर छौँ ।’

अनुसूची ३ मा रहेको निशाना छाप परिवर्तन गर्ने संविधान संशोधन प्रस्ताव  सरकारले प्रमुख प्रतिपक्षी दलले समय माग गरेकाले कार्यसूचीबाट हटाइएको बताएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार बसेको सर्वदलीय बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय कमिटीको बैठकको निर्णय कुर्न आग्रह गरेका थिए । पदाधिकारीको बैठकले संविधान संशोधन सर्वसम्मतिले पास गर्नुपर्ने निर्णय गरेको थियो ।

सरकारको यस्तो अभिव्यक्ति आएपछि सांसद थापाले सभापति शेरबहादुर देउवालाई कांग्रेस यसैको पक्षमा रहेको भन्दै तत्काल निर्णय गर्न भनेका थिए । त्यस्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने नेकपाका नेताहरुले कांग्रेसको अनुरोधमा बुधबार संसदको कार्यसूचीबाट संविधान संशोधनको प्रस्ताव हटाएको बताएपछि कांग्रेसले आपत्ति जनाएका छन् ।

प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने फिर्ता गर्दा दोष लगाउने ? को गर्दैछ यो षड्यन्त्र ? भन्दै उनले प्रश्न गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *