आज गणतन्त्र दिवसः तीन दिन दिपावली गर्न सरकारकाे आग्रह, राष्ट्रपतिबाट २३३ जना कैदीकाे कैद मिनाहा

काठमाडौं । आजबाट नेपालमा गणतन्त्र स्थापना भएकाे १२ वर्ष पुरा भएर १३ वर्षमा प्रवेश गरेकाे छ । नेपालमा राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएको १२ वर्ष पुगेर १३ वर्षमा प्रवेश गरेको विशेष दिन हाे । नेपाली राजनीतिक इतिहासमा एक अविस्मरणीय दिनको रुपम लिइन्छ ।

२०६५ साल जेठ १५ गते बसेको पहिलो संविधान सभाको पहिलो ऐतिहासिक बैठकले नेपाललाई गणतन्त्रमा लैजाने प्रस्ताव अत्याधिक मतले पारित गरेको थियो । त्यसपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा भएको थियो ।

गएका वर्षहरुमा नेपाल सरकारले गणतन्त्र दिवसलाई धूमधाम र उत्सवका साथ तीन दिनसम्म मनाउने गर्दथ्यो । तर, यस वर्ष कोरोना भाइरस (कोभिड– १९) को महामारीले देशभर बन्दाबन्दी रहेकाले गणतन्त्र दिवस शुभकामना सन्देश आदान प्रदानमै सीमित भएको छ ।

गृहमन्त्रालयले तीन दिन दिपावली गरी गणतन्त्र दिवस मनाउन अनुरोध गरेको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को जेठ १२ को निर्णयअनुसार जेठ १४, १५ र १६ गते साँझ घरघरमा दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो ।

मन्त्रालयले सङ्घ प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी र गैरसरकारी कार्यालय, आम नागरिक एवं विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा पनि तीन दिन साँझ दीपावली गरी गणतन्त्र दिवस बनाउन विज्ञप्तिमार्फत आग्रह गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक बधाइ दिँदै सुख, शान्ति र समृद्धिको कामना गरेकी छिन् ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले कोभिड–१९ नियन्त्रणका लागि तीन तहको सरकारले गरिरहेको कार्यले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाप्रति थप गौरव गर्ने वातावरण बनेको बताएका छन् । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले १३ औँ गणतन्त्र दिवसले संविधानले निर्दिष्ट गरेका लक्ष्य र दायित्व पूरा गर्न तथा दलहरुबीच सुदृढ राष्ट्रिय एकता कायम गरी समृद्ध नेपाल निर्माण गर्ने महाभियानमा लाग्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्ति एकतावद्ध भई जन चाहनाअनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।

२ सय ३३ जना कैदीको कैद सजाय मिनाहा

सरकारले गणतन्त्र दिवसको अवसरमा मुलुकका विभिन्न जेलमा कैद सजाय दण्ड जरिवाना पाएकाहरूकाे कैद सजाय मिनाहा गरेकाे छ । चालचलन असल भएकाे तथा सजाय भुक्तान सकिन लागेका २ सय ३३ जना कैदीको कैद सजाय मिनाहा गरेको छ । यस्तै आठ जना व्यक्तिहरुको कैद, दण्ड जरिवाना, विगो, सर्वस्वलगायतको सजायँ माफी गरिएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजायँ मिनाहा र दण्ड जरिवाना माफी दिएकी हुन् । राष्ट्रपति कार्यालय शितल निवासबाट जारी विज्ञप्तिअनुसार रामबहादुर भन्ने रमेश विश्वकर्मासमेतका २३३ जना कैदीहरुको बाँकी कैद सजायँ माफी मिनाहा भएको छ ।

यसैगरी कपिल देव साह कानूसमेतका आठ जना व्यक्तिहरुलाई बिभिन्न अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट बिभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, विगो, सर्वस्वलगायतको सजाय माफी भएको शितल निवासबाट जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *