‘प्रदेश १ को बजेट कृषि उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित हुने ‘

  • सुजता लिम्बु

विराटनगर । प्रदेश १ सरकारको आगामी बजेट कृषि उत्पादन क्षेत्र साथै रोजगारी सिर्जना गर्ने क्षेत्रमा केन्द्रित हुने आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङबोले जानकारी दिएका छन् । प्रदेशसभाको बुधबार सुरु भएको छैटौं बजेट अधिवेशनमा आगामी आर्थि वर्ष २०७७-०७८ को बजेटबारे उक्त जानकारी दिएका हुन् ।

बजेटले कोराना रोकथाम र नियन्त्रणलाई प्राथमिकतामा राख्दै रोजगारी, पूर्वाधार विकास र शिक्षा तथा स्वास्थ्यमा गुणात्मक सुधार गर्ने मन्त्री आङबोले भने । आगामी बजेट कोरोनाको रोकथाम, नियन्त्रण, उपार राहतसहित उत्पादनशील क्षेत्रमा लगानी र रोजगारी सृजनामा केन्द्रित हुने उनले बताए ।

हाल महामारीको असरबाट प्रदेशका नागरिकहरुलाई सुरक्षित राख्दै यसबाट पर्ने आर्थिक असर न्यूनिकरण र प्रदेशको आर्थिक विकासको खाका निक्रयौल गरेर अगाडि बढनुपर्ने भन्दै मन्त्री आङबोले आर्थिक विकास र त्यसको समन्वयत्माक वितरण गर्ने आकांक्षा राखिएको बताए ।

मानवीय, आर्थिक तथा समन्वयात्मक विकासका लागि अल्पकालीन उपायको कार्यान्वयन तथा मध्यकालीन र दीर्घकालीन उपाहरुको पहिचान सुरु गर्ने उनको भनाई छ । निजी क्षेत्रका लागि सहजकर्ता र साझेदार एवं सहकारी तथा सामदायिक क्षेत्रका लागि संरक्षण साथै सीमान्तकृत समुदायका लागि संरक्षक हुने आङबोले बताए ।

कोभिड १९ का कारण गरिएको लकडाउनका कारण देशको अर्थतन्त्र, सामाजिक क्षेत्र र अन्य क्षेत्रमा परेका प्रभावको अध्ययन गरी त्यसको निराकणको उपाय खोजी गर्दै कृषि तथा उद्योग व्यवसाय क्षेत्रलाई गतिशिल र चलायमान बनाईने जानकारी उनले दिए ।

शिक्षा, स्वास्थ्यमा सबै नागरिकको सजह पहुँच सुनिश्चित र सेवाको गुणस्तर वृद्धिमा जोड दिने भन्दै मन्त्री आङबोले सबै प्रदेशबासीको स्वास्थ्य बिमा गरिने बताए । कोरोनाका कारण रोजगारी गुमाएकाहरुलाई स्वरोजगार बनाउने कार्यक्रम तय गर्नेगरी उत्पादनमुलक र छिटो प्रतिफल दिने उद्यमलाई प्राथमिकता दिने उनको भनाई छ ।

बिहीबार ११ बजे बस्ने बैठकमा बजेटका सिद्धान्त र प्राथमिकताको बारेमा छलफल हुनेछ । सिद्धान्त र प्राथमिकताको छलफल सकिएपछि प्रदेश प्रमुखले नीति तथा कार्यक्रम पेश गर्ने र असार १ गते बजेट पेश हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *