कांग्रेसबारे भ्रम छर्ने र शंका गर्नेलाई एकमुष्ट जवाफ दिन्छौँः गगन थापा

काठमाडौं। नेपाली काँग्रेसका युवा नेता गगन थापाले कांग्रेसबारे भ्रम सिर्जना गर्ने र शंका गर्ने देशभित्र र बाहिरका सबैलाई एकमुष्ट जवाफ दिने बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमार्फत नेता थापाले काँग्रेसका बारेमा भ्रम सिर्जना गर्ने र शंका गर्नेलाई काँग्रेस केन्द्रीय समिति बैठकबाट एकमुष्ट जवाफ दिने बताएका हुन्।

उनले भनेका छन्, ”पर्सि १७ जेठको केन्द्रीय समितिको बैठकबाट नेपाली काँग्रेसका बारेमा भ्रम सिर्जना गर्ने र शंका गर्ने देशभित्र र बाहिरका सबैलाई एकमुष्ट जवाफ दिनेछौँ।’ काँग्रेसले संविधान संशोधनबारे निर्णय लिन शनिवार १ बजेलाई केन्द्रीय समिति बैठक बोलाएको छ।

थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भोलि नै संविधान संशोधन प्रस्ताव टेबुल गर्न सुझाव दिएका छन्। उनले केन्द्रीय समितिको बैठकबाट निर्णय गरेर पर्सि नै संशोधनका पक्षमा मतदान गर्ने पनि बताए। उनले ट्विटरमा भनेका छन्, ‘प्रधानमन्त्रीज्यू, अब त भन्न केही बाँकी नहोला। प्रस्ताव भोलि टेबुल गर्नुस्। हामी पर्सि बैठकबाट निर्णय गरेर संशोधनको पक्षमा मत राख्न आउँछौँ ।’

सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्साअनुसार नेपालको संविधानको अनुसूची–३ मा रहेको नेपालको निशान छापभित्र अंकित नेपालको नक्सालाई नेपालको वास्तविक सीमा अनुरूप मिलाउनका लागि यही ९ जेठमा संघीय संसदमा ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७७’ विधेयक दर्ता गराएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *