बिक्री नभएपछि किसानले भिन्डीबारीमा चलाए ट्याक्टर (भिडियाेसहित)

  • ध्रुवराज खनाल

चितवन । तरकारीले बजार नपाएपछि जिल्लाभित्रै कतिपय किसानले कम्पोष्ट मल बनाउने त कतिपयले काटेर सुकाउने गरिरहेका छन् । तर चितवन खैरहनी वहेराका किसान बासुदेव सापकोटाले भिन्डीबारीमा ट्याक्टर लगाएर जोतेका छन् ।

सात कठ्ठा जग्गामा लगाइएको भिन्डीमा उनले ट्याक्टर लगाएर जोतेका हुन् । उनले १२ हजार रुपैयाँको मात्र बिक्री गरे । त्यस यता उनले बिक्री गरेका छैनन् । किसान सापकोटाले आफ्नो परिश्रमबाहेक ७ कठ्ठामा ६५ हजार रुपैयाँ खर्च गरेर भिन्डी लगाएका थिए । ‘सुरुमा केही बिक्री भयो, अहिले सित्तैमा लैजान समेत मान्दैनन् । बोटमा छिप्याएर राख्नु भन्दा जोतेर अर्को बालीको तयारी गर्न उपयुक्त ठानेँ,’ किसान सापकोटाले भने ।

१२ वर्षअघि प्रतिकिलो २ रुपैयाँमा झरेपछि उनले त्यो बेला पनि ट्याक्टर लगाएका थिए । त्यहीकै स्थानीय कृष्ण प्रसाद सापकोटाले २३ कठ्ठामा तरकारी खेती गर्दै आएका छन् । त्यसमध्ये ६ कठ्ठामा भिन्डी लगाएका छन् । अन्य तरकारीले बजार पाए पनि भिन्डीले भने मुल्य नपाउँदा उनी निरास छन् । भिन्डीसँगै जोडिएको जग्गामा मकै खेती गरेकाले एकै पटक जोत्ने तयारीमा उनी छन् ।

विदेशबाट फर्केर स्वदेशमै तरकारी खेती सुरु गरेका उनले यसैबाट छोराछोरी पढाउने, घर खर्च चलाउने गरेका छन् । तरकारी खेती गर्ने किसानलाई उनीहरुले उत्पादन गरेको वस्तुको समर्थन मुल्य सरकारले तोक्नुपर्ने उनको भनाइ छ । लागत मुल्य समेत नपाउने अवस्था छ किसान सापकोटाले भने, ‘सरकारले न्युनतम मुल्य तोकेर उत्पादित वस्तुको बजार ग्यारेन्टी गर्नुपर्छ ।’

उनीहरुले स्थानीय ग्रामिण ताजा तरकारी तथा फलफुल उत्पादक सहकारी संस्थामार्फत् तरकारी बिक्री गर्दै आएका छन् । सहकारीका अध्यक्ष पूर्णदत्त जैसी क्षेत्रीले लकडाउनका कारण तरकारी संकलनको काम बन्द भएको बताए । यहाँ उत्पादन भएको तरकारीको मुख्य वजार नारायणगढ, काठमाडौं र पोखरा हो । अन्य जिल्ला लैजान अहिले समस्या छ सहकारीका अध्यक्ष जैसीले भने विचौलिया हाबी हुँदा तरकारीले उचित मुल्य पाउन सकेन ।

उनका अनुसार बजारमा उपभोक्ताले खरिद गर्दा प्रतिकिलो भिन्डीको एक सय रुपैया सम्म पर्ने गरेको छ । खैरहनी वडा नम्वर १ मा अहिले ३ सय किसान व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् । तीन सिजन यहाँ तरकारी उत्पादन हुन्छ । सहकारीका अध्यक्ष जैसीका अनुसार खैरहनी वडा नम्वर १ बाट मात्रै वार्षिक ९ करोडको तरकारी उत्पादन हुँदै आएको छ । यहाँ भिन्डी, बोडी, बन्दा, काउली, गोलभेँडा लगायतको तरकारीखेती हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *