चौरजहारी घटना : मृतकको सङ्ख्या पाँच पुग्यो, अझै एक बेपत्ता

जाजरकोट । रुकुमको चौरजहारी घटनामा हराएकामध्ये एक जनको शव आज फेला परेको छ । भेरी नगरपालिकाका वडा नं ४ का वेपत्ता सन्दीप विकको शव छेडागाड नगरपालिका १३ कालाभिरमा आज फेला परेको छ । योसँगै मृतक पाँचजनाको शव फेला परेको सशस्त्र प्रहरी बल जाजरकोटका प्रमुख योग्य बस्नेतले जानकारी दिए ।

बुधबारमात्र लोकेन्द्र सुनारको शव फेला परेको थियो । एक जना अझै वेपत्ता रहेका छन् । उनको पनि खोजी कार्य भइरहेको प्रहरी प्रमुख बस्नेतले जानकारी दिए ।

घटना गत १० जेठ गते घटेको थियो । यस अघि भेरी नगरपालिका–४ का नवराज विक, लोकेन्द्र सुनार, गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको शव फेला परिसकेको छ भने भेरी नगरपालिका–११ का गोविन्द शाही अझै बेपत्ता छन् ।

हिउँ पग्लिएर भेरी नदी धमिलो भएकाले पानीभित्र बेपत्ता भएकाको शव खोज्न कठिन भएको गोताखोरको टोलीले जनाएको छ । अन्तर्जातीय प्रेमका कारण जेठ १० गते पश्चिम रुकुमको चौरजहारी–८ सोतीमा भएको घटनामा हराइरहेका तीनजनाको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको थियो ।

घटना भएको पाँच दिनसम्म पनि हराएकाहरु सम्पर्कमा नआएको र कतै नभेटिएपछि भेरी नदीमै डुबेको आशङ्कामा सशस्त्र प्रहरी गण शमशेरगञ्जबाट तालिम प्राप्त गोताखोर झिकाएर परिचालन गरिएको थियो । तर नदी धमिलो भएकाले पानीभित्र हेर्न नसकिएको र शङ्कास्पद स्थानमा छामेर खोज्नुपरेको सशस्त्र प्रहरीका प्रमुख बस्नेतले बताए।

उनले भने, “हिमालमा हिउँ पग्लिएकाले पानीको बहाव पनि बढेको रहेछ । नदी पनि निकै धमिलो छ । पानीभित्र हेर्न मिल्दैन धमिलो पानीकै कारण खोजी कार्यमा कठिनाइ भएको छ ।” अक्सिजनसहित अत्यावश्यक उपकरण लिएर आएका गोताखोर गहिरो तलाउमा पनि धेरैबेर डुबेर पानीभित्र अड्किएको वस्तु खोज्न सक्छन् तर नदी नै धमिलो हुँदा समस्या भएको उनीहरुको भनाइ रहेको प्रमुख बस्नेतले जानकारी दिए ।

पानीमा डुबेर खोज्न मिल्ने अक्सिजनसहितको पाँचजनाको टोली उताबाट आएको र जिल्लामा तालिम प्राप्त केही जनशक्ति गरी दर्जनभन्दा बढी सशस्त्र प्रहरी बेपत्ताको खोजीमा बुधबार बिहानैदेखि भेरीमा परिचालन गरिएको उनले बताए ।

हराएकाको खोजी कार्यमा स्थानीय बासिन्दा, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवान दैनिकजसो संलग्न रहे पनि भेटाउन नसकेपछि गोताखोर बोलाइएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए । बेपत्ताहरु नदीमा डुबेको हुन सक्ने आशङ्कामा सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *