हवाई पूर्वाधारमा १९ अर्ब ४२ करोड बजेट

काठमाडौँ । सरकारले महत्वपूर्ण पर्यटकीय पूर्वाधारका रुपमा रहेको मुलुकको हवाई क्षेत्रको पूर्वाधार विस्तारका लागि आगामी आर्थिक वर्षका लागि रु १९ अर्ब ४२ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त वैठकमा आव २०७७/०७८ कोे आयव्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै पर्यटन हवाई पूर्वाधार विकासका लागि बजेट घोषणा गरेका हुन् ।

अन्तरराष्ट्रिय विमानस्थलको निर्माण तथा स्तरोन्नतिका लागि यो बजेट खर्च गरिनेछ । अघिल्लो आव २०७६/७७ मा हवाई क्षेत्रको पूर्वाधार विकासका लागि रु १९ अर्ब ३५ करोड बजेट विनियोजन गरिएको थियो । हवाई पूर्वाधारमा अघिल्लो वर्षभन्दा यो वर्ष सात करोड बढी बजेट छुट्याइएको छ । सुरक्षित, नियमित, विश्वसनीय र सुलभ हवाई सेवाका लािग गुणस्तरीय हवाई पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको सरकारले अन्तर प्रदेश हवाई सम्पर्क विस्तार र अन्तरराष्ट्रिय हवाई सेवा बढाउन बजेट छुट्याएको छ ।

निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा दोस्रो टर्मिनल भवन निर्माण र पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलका लागि बजेट छुट्याएको छ । बाराको निजगढ अन्तरराष्ट्रिय विमानस्थलमा बस्ती स्थानान्तरणका लागि बजेट विनियोजन गरिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिका लागि पनि बजेट विनियोजन गरिएको अर्थमन्त्री डा खतिवडाले बजेट वक्तव्यमा उल्लेख गरेका छन् ।

सुर्खेत र चितवनको भरतपुर विमानस्थललाई प्रादेशिक उडानका लागि स्तरोन्तनि गरिने भएको छ । चन्द्रगढी, धनगढी र जनकपुर विमानस्थलको स्तरोन्नति गरिने बजेटमा भनिएको छ ।

मोरङको विराटनगर र बाँकेको नेपालगञ्जमा नयाँ टर्मिनल भवन निर्माण गरिनेछ । तेह्रथुमको चुहानडाँडा र दाङको नारायणपुरमा आन्तरिक विमानस्थल बनाउन बजेट विनियोजन गरिएको छ । नारायणपुरमा विमानस्थल बनाउन सम्भाव्यता अध्ययन पूरा भइसकेको छ । हवाई सेवालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउन नयाँ हवाई नीति ल्याउने जनाइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण पुनःसंरचना गरी नियामक र सेवा प्रदायकका रुपमा छुट्टाछुट्टै संस्थाका रुपमा विकास गरिने अर्थमन्त्री डा खतिवडाले बताए । सरकारको वार्षिक नीति तथा कार्यक्रममा पनि हवाई उड्डयन क्षेत्रमा नियामक र सेवा प्रदायकका कार्यलाई छुट्टाछुट्टै संस्थापक व्यवस्था गरी कार्यान्वयनमा ल्याइने घोषणा गरिएको थियो ।

त्यस्तै लुम्बिनीमा निर्माणाधीन पाँच हजार व्यक्ति क्षमताको ध्यान केन्द्र तथा सभाहल निर्माण गरी सञ्चालनमा गरिनेछ । लुम्बिनी क्षेत्र विस्तार गर्न बृहत्तर लुम्बिनी अवधारणा कार्यान्वयनमा ल्याइनुका साथै रामग्राम गुरुयोजना कार्यान्वयन गरिने जनाइएको छ । तिलौराकोटलाई विश्वसम्पदा सूचीमा राख्ने प्रक्रिया अघि बढाइनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *