डा. खतिवडाको तेस्रो बजेट ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’

काठमाडौं । सेयर बजारका लागि भने अर्थमन्त्री डा. युवराज खतिवडा भिलेन भएका छन् । सेयर कारोबारीले आ.ब. २०७७/७८ को बजेट ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ भने झैं भएको बताएका छन् ।

बजेट सार्वजनिक भए लगत्तै नेपाल पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेलले स्टाटस राख्दै भनिन् ‘सेयर बजारको लागी आगामी आ.ब. २०७७/७८ को बजेट ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मत’ भने झै भएको छ ।’ उनले आगामी आ.व. देखि डिलरशिपको ब्यबस्था गरेको भन्दा बाहेक एउटा पनि पूँजीबजारको बिकास र बिस्तारको लागी कार्यक्रम बजेटमा नपरेको बताएकी छिन् ।

‘बिद्युतीय कारोबारको दायरा बिस्तार गरिने भन्ने चालु आ.ब. मै भएको ब्यबस्थाको लागी थप समय खर्चेको जस्तो लाग्यो । खासै आगामी बर्षको बजेटबाट आम लगानीकर्ता लाभान्वित हुने देखिएन ।’ पोखरेलले भनेकी छिन् । उनले यो बजेट मलाई महत्वकाक्षी बताएकी छिन् ।

कम्तिमा केहि महिनाको भएपनि निश्चित अंकसम्म ऋणको ब्याज मिनाहा गरिदिएर अर्थात अहिलेको संकटको समयमा आर्थिक प्याकेज घोषणा गरेर मल्हम पट्टी लगाउने काम होला भनेर आशावादी रहेकोमा बजेटले सेयरबजारलाई प्राथमिकतामा राख्नै नसकेको पोखरेलको भनाई छ ।  ‘अहिलेको संकटको समयमा आर्थिक प्याकेज घोषणा गरेर मल्हम पट्टी लगाउने काम होला भनेर आशावादी थियौं तर, लगानीकर्ता मैत्री बजेट आउन सकेन ।’ उनले भनेकी छिन् ।

राधा पोखरेल

‘सेयर लगानीकर्तालाई ढुक्कको बाताबरण बन्नेछ भन्नेमा आशावादी थियौं । दुःखका साथ भन्नुपर्दा अर्थतन्त्रको ऐना मानिने सेयर बजारलाई बजेटले प्राथमिकतामा राख्न नसकेको देखियो ।’ पोखरेलको तर्क छ ।  सेयर लगानी कर्ताहरुले अर्थमन्त्रीले सेयर मार्केटको सुधारका लागि कुनै प्याकेज दिन नसकेको बताएका छन् । कतिले डा. युवराज खतिवडा सेयर बजारप्रति अनुदार भएको समेत बताएका छन् । ‘उनका यस अघिका दुई वटा बजेटमा पनि हामीलाई कुनै प्याकेज आएन, यसपटक अलिकति आशा थियो त्योपनि निराशामा बदलिदिए ।’ सेयर ब्रोकरको भनाई छ ।

देशको आर्थिक मेरुदण्ड भनेकै सेयर बजार भएपनि अर्थमन्त्रीले बुझ्न नसकेको उनीहरुको तर्क छ । उनीहरुले अर्थमन्त्रीले लगानीकर्तालाई पुरानै कुरामा अल्मल्याएको बताएका छन् ।  असामान्य अवस्थामा आएको सामान्य बजेटले अहिलेको संकटलाई चिर्न सक्ने अवस्था नभएको बताइएको छ । सत्तारुढ पार्टीका पूर्व अर्थमन्त्री, अर्थविद्हरुले मितव्ययी बजेट भएको बताउँदै आएपनि बर्तमान अवस्थालाई उकास्न अर्थमन्त्रीले जे साहस गर्नुपर्ने थियो, त्यो त गर्न नसकेको प्रतिपक्षका पूर्व अर्थमन्त्रीहरुले भनेका छन् ।

कोरोना संक्रमणका कारण समस्यामा परेको अर्थतन्त्रलाई उकास्न, व्यापक मात्रामा रोजगारी गुमेकाहरुको रोजगारी सिर्जना गर्न, देशभित्र उद्यमशीलता विकास गर्न र निजी क्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहन गर्न बजेटले नसकेको तर्क छ । कृषि क्षेत्रमा प्रभावकारी वजेटको अपेक्षा गरिएको भएपनि प्राथमिकतामा नपरेको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *