बजेटप्रति उद्योगी व्यवसायी असन्तुष्ट, अन्यको मिश्रित प्रतिक्रिया

  • ध्रुवराज खनाल

चितवन । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७७-७८ का लागि बजेट सार्वजनिक गरेपछि यसमा प्रतिक्रिया आउन सुरु गरेका छन् । कतिपयले बजेटलाई सकारात्मक रुपमा लिएका छन् भने कतिले पुरानै शैलीमा आएको प्रतिक्रिया दिएका छन् । विषेशत कोरोना भाईरसले थिलोथिलो परेको अर्थतन्त्र उकास्न उद्योगी व्यवसायीहरुको माग बजेटले नसमेटिएको गुनासो आएको छ ।

चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले सरकारले ल्याएको बजेट असन्तुलित भएको प्रतिक्रिया दिएका छन् । बजेटले रोजगारी सृजना गर्ने खालको खास योजना नआएको उनको भनाई छ । देश विषम परिस्थितिमा छ तर सरकारले सन्तुलित वजेट ल्याउन सकेन संघका अध्यक्ष पौडेलले भने- सवै क्षेत्रमा उत्साह भर्न नसक्दा आर्थिक प्रगति वढ्ने आशा गर्न गाह्रो छ । भन्सार दर सकारात्मक रहेपनि पनि तथ्यांक हेर्न वाँकी रहेको उनले बताए ।

पौडेलका अनुसार स्वास्थ्य र कृषिमा विनियोजित बजेट थोरै छ । वजेट प्रस्तुत गरेका अर्थमन्त्रीले गफ गर्ने मात्र काम गरेको भन्दै तथ्यपरक योजना नआएको उनको प्रतिक्रिया छ । जसका कारण वेरोजगारी वढ्ने र अर्थतन्त्र चलायमान नहुने खतरा रहेको उनले औल्याए । नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश सदस्य गुणराज श्रेष्ठ पनि सरकारले ल्याएको बजेट प्रति खुसी छैनन् ।

कोरोना पछिको यो अवस्थामा स्वास्थ्य क्षेत्रमा केही सुधार हुनु राम्रो रहेपनि उद्योगी व्यवसायीको माग अनुसार बजेट नआएको उनको भनाई छ । कृषि र रोजगार सृजना गर्ने खालका योजना वजेटले प्राथमिकता दिन नसकेको श्रेष्ठको वुझाई छ । वजेट पुरानै शैलीमा आएको उनको प्रतिक्रिया छ ।

बजेट सन्तुलित छ : पौडेल
जिल्ला सहकारी संघ चितवनका अध्यक्ष हरि प्रसाद पौडेल सरकारले ल्याएको बजेट सन्तुलित भएको प्रतिक्रिया दिन्छन् । समग्रमा बजेट सन्तुलित ढंगले आएको भन्दै कार्यान्वयनमा पक्ष प्रभावकारी वनाउनु पर्ने उनको सुझाव छ । उत्पादनलाई जोड दिने खालका योजनालाई वजेटमा समावेश गरिएको संघका अध्यक्ष पौडेलको दावी छ ।

धेरै क्षेत्रमा सहकारी मार्फत काम गर्दा उपलव्धी हुन्छ भन्ने सरकारले महसुस गर्दै यस पटक कृषि,वचत ऋण सहकारीलाई सलग्न गराउन खोज्नु राम्रो पक्ष रहेको जिल्ला सहकारी संघका अध्यक्ष पौडेलको वुझाई छ ।

ऋण जोखिम न्युनिकरण गर्न सुचना प्रणालीलाई प्रभावकारी वनाउने,गरिव विपन्न युवाहरुलाई साना तथा घरेलु उद्यमी वनाउन सहकारी मार्फत ऋण प्रवाह गर्ने निति,कृषकलाई सहज पौच पुर्याउने,सहकारीका संस्थागत विकास गर्ने,मुल्य श्रृंखला सहकारी मार्फत गर्ने जस्ता पक्ष सकारात्मक रहेको पौडेलले वताए ।

केही आशा केही निराशा : भट्टराई
पर्यटन क्षेत्रलाई सरकारले खासै समेट्न नसकेको प्रतिक्रिया पर्यटन व्यवसायी दिन्छन् । कोरोना पछिको वर्तमान अवस्थालाई माथि उठाउन सरकारले बजेटमा पर्याप्त ध्यान दिन नसकेको क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष दिपक भट्टराईको प्रतिक्रिया छ । बजेट उत्साहजनक नभएपनि नहुनु भन्दा केही न केही सम्वोधन गर्न खोजेको उनको वुझाई छ ।

वर्तमान अवस्थाको महामारीबाट पर्यटन क्षेत्र सिथिल वनेको छ अध्यक्ष भट्टराईले भने- तर अपेक्षाकृत रुपमा बजेटले सम्वोधन गर्न सकेन । पर्यटन क्षेत्रको पूर्वाधार निर्माणमा भने सरकारले ल्याएको वजेटलाई उनले सकारात्मक प्रतिक्रिया दिएका छन् । सरकारले विहीवार आगामी वर्षका लागि १४ खर्व ७४ अर्ब ६४ करोड बरावरको बजेट सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *