एउटै गाउँपालिकाका ७३ जनामा संक्रमण, सबै भारतबाट आएका

भद्रपुर । झापाका १५ वटा स्थानीय तहमध्ये कचनकवल गाउँपालिकामा कोरोना भाइरस संक्रमित धेरै भेटिएका छन्। जिल्लामा संक्रमित पुष्‍टि भएका ७९ संक्रमितमध्ये ७३ जना कचनकवल गाउँपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जानकारी दिएको छ।

कार्यालयका अनुसार हिजो, १५ जेठमा मात्र कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा थप २५ जना संक्रमित फेला परेका छन्। यसअघि पुष्‍टि भएका ४८ जना संक्रमितलाई उपचारका लागि कोभिड अस्पताल विराटनगर र धरान पठाइएको थियो। कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले नयाँ संक्रमित २५ जनालाई थप उपचारका लागि विराटनगर पठाइसकेको जानकारी दिए।

आलमका अनुसार सबैभन्दा बढी भारतको मुम्बइ, दिल्ली र गुजरातबाट रोजगारमा गएका लकडाउनपछि घर फर्किएका छन्। “जति पनि संक्रमित पुष्टि भएका छन्, उनीहरू सबै क्वारेन्टाइनमा बसेका हुन्”, उनले भने, “सीमा क्षेत्रमा आइपुगेका कचनकवलवासीलाई सुरक्षित उद्धार गरेर क्वारेन्टाइनमा राखिएकोले थप समुदाय संक्रमित हुनबाट जोगियो ।”

गाउँपालिकाभित्रका ६ वटा क्वारेन्टाइनमा राखिएकामध्ये २७६ को स्वाब संकलन गरी परीक्षणका लागि विराटनगर र धरानस्थित प्रयोगशालामा पठाइएको थियो। परीक्षण गरिसकिएकामध्ये ७३ को जनामा कोभिड-१९ पोजिटिभ देखिएको छ। ३५ जनाको रिपोर्ट आउन बाँकी छ।

पालिकाको पथरिया मावि, लक्ष्मीप्रसाद देवकोटा मावि, जानकी आधारभूत विद्यालय, महेन्द्र रत्न मावि, बुद्ध आधारभूत विद्यालय र केचना माविमा क्वारेन्टाइनमा निर्माण गरिएको उनले बताए। क्वारेन्टाइनमा बसेकामध्ये अझै १०० जनाको स्वाब परीक्षण गर्न बाँकी छ।

झापामा यसअघि बाह्रदशी गाउँपालिका, गौरादह नगरपालिका दुई-दुई, दमकका एक र झापा गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भइसकेको छ। जसमध्ये दमक र बाह्रदशीका एक/एक निको भएर फर्किसकेको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वर पौडेलले बताए। रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *