विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले विदेशमा अप्ठेरोमा परेका नागरिकको उद्धार गर्ने निर्णय गरेको छ ।

शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिको बैठकले विदेशमा अप्ठ्यारोमा रहेका तथा अलपत्र परेका नागरिकको उद्धार गर्ने निर्णय गरेको हो ।

भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई प्राथमिकता तोकेर स्वदेश फर्काउने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले जानकारी दिए ।

नेपाल फर्किन अनुमति पाइसकेका, अन्य कुनै कारणले बहिरगमन भिसा पाइसकेका, आफन्तको मृत्यु भई काजकिरियाका लागि नेपाल आउनुपर्ने व्यक्तिहरुलाई पनि पहिलो चरणमा फर्काउने सरकारको तयारी छ।

करार अवधि सकिएका र रोजगारी गुमाएका व्यक्तिहरु, कोरोना बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य अवस्था भएका व्यक्तिहरु, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरु पनि घर फर्काउन सरकारकाे प्राथमिकतामा परेका छन् ।

त्यसैगरी सरकारी सेवामा रहेका र विदेश अध्ययन वा तालिमका लागि गएर फर्किन नपाएका, अध्ययन सकिएका विद्यार्थीहरु, कलेज बन्द भएका विद्यार्थीहरु, पारिवारिक भेटघाटमा गएर फर्किन नपाएका व्यक्तिहरुलाई तत्काल फर्काउने उच्चस्तरीय समितिले निर्णय गरेको छ।

सरकारले विदेशबाट फर्काउने नेपालीको प्राथमिकता अनुसारको सूची तयार पार्ने जिम्मेवारी परराष्ट्र मन्त्रालयलाई दिएको छ।सम्बन्धित देशका दूतावासमार्फत् परराष्ट्रले ती देशबाट फर्काउनै पर्ने नेपालीको तथ्यांक संकलन गर्नेछ । यस्तै पर्यटन मन्त्रालयले उनीहरुलाई फर्काउनका लागि आवश्यक विमानको व्यवस्था गर्नेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *