विश्वभर साढे २६ लाखले जिते कोरोना, मृतक र संक्रमितको संख्या कति ?

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका २६ लाख ५६ हजार मानिस कोरोना निको भएर घर फर्केका छन् ।

वल्डोमिटरले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार २६ लाख ५६ हजार १ सय ४४ जना कोरोनाबाट निको भएका हुन् । अहिले उपचार गरिरहेका अधिकांश संक्रमितको अवस्था पनि सामान्य रहेको छ । बढी प्रभावित इटली र स्पेनमा नयाँ संक्रमणमा तुलनात्मक रुपमा कमी आएको छ ।

चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर विश्वभर ३ लाख ६६ हजार ४२१ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ६० लाख २६ हजार ४ सय भन्दा धेरै छ ।

सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा थप १ हजार १९५ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख ४ हजार ५२५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार ४०९ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १७ लाख ९२ हजार ८७० पुगेको छ । अमेरिकामा ५ लाख १९ हजार २८२ जना निको भएका छन् ।

ब्राजिलमा कोरोना भाइरसको महामारीले २७ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार १८० जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २७ हजार ९४४ पुगेको छ । एकै दिन २९ हजार ५२६ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ४ लाख ६८ हजार ३३८ पुगेको छ । २ लाख ४७ हजार २१३ जनाको उपचार भइरहेको छ भने १ लाख ९३ हजार १८१ जना संक्रमण मुक्त भएका छन् ।

रुसमा कोरोना भाइरसबाट ३ लाख ८७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । एकै दिन ८ हजार ५७२ जनामा संक्रमण देखिएको छ । योसँगै ३ लाख ८७ हजार ६२३ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा २३२ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४ हजार ३७४ पुगेको छ । २ लाख २३ हजार ९९२ जनाको उपचार भइरहेको छ भने १ लाख ५९ हजार २५७ जना संक्रमणमुक्त भएका छन् ।

छिमेकी मुलुक भारतमा एकै दिन ८ हजार १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा कुल संक्रमितको संख्या १ लाख ७३ हजार ४९१ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । कोरोना भाइरसको संक्रमणले एकै दिन २६९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा मृत्यु हुनेको संख्या ४ हजार ९८० पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *