प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं। शनिवार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार साँझ ५ बजेका लागि मन्त्रीपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

बैठकमा करोनाभाइरस रोकथामका लागि जारी लकडाउनको स्वरूप परिवर्तन र विदेशमा अलपत्र नेपालीको उद्धार गर्ने लगायतका विषयमा छलफल हुने बताइएको छ। उच्चस्तरीय समितिले हिजो गरेका निर्णय पनि मन्त्रिपरिषद् बैठकमा पेस गर्ने कार्यक्रम रहेको छ।

उच्चस्तरीय समितिले समेत विभिन्न देशमा रहेका नेपाली दूतावासको समन्वयमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न सिफारिस गरेको छ। सरकारले प्राथमिकता र समस्या परेका नेपालीहरूको उद्धार गरिने बताएको छ। संसदीय समितिका बैठकमा पनि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २५ हजार नेपालीहरूको उद्धार गर्ने तयारी भइरहेको बताएका थिए।

लकडाउनको स्वरूप परिवर्तन गर्ने विषयमा आज निर्णय हुनसक्ने बताइएको छ। लकडाउनका बेला उद्योग, कलकारखाना सञ्चालनका लागि छुट्टै स्वरूप जारी गर्ने सरकारको तयारी रहेको बुझिएको छ। सरकारले पछिल्लो पटक थप गरेको लकडाउनको समय २० जेठमा सकिँदै छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *