मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

टोपीका बुट्टाहरुमा जीवनको लय खाेज्दै ‘घरेलु बाजे’

  • लोकराज भट्ट

डाेटी । जसले गाउँमै उद्योगको सपना देखे । सपनालाई साकार पार्न सम्पुर्ण समाज एक बाटो हिडिरहँदा आफू अर्को बाटो हिँडे । तीस एकतीस बर्ष अगाडीको समय आजको जस्तो सहज थिएन । बाटोघाटो र यातायातका साधन थिएनन् । गाउँमा उद्योग गर्छु भन्नु पनि पत्यारीलो कुरा थिएन । काम गरीहाल्नु त झन अरुको खिल्ली र आलोचना सहनु बाहेक के थियो र ?

लोकराज भट्ट

जोगी सिं कुवँर बि.स. २०१४ सालमा डोटीको वायलमा जन्मेका हुन् । उनी सात बर्षको हुँदा बुवाले संसार छोडेर गए । बुवा बितेपछि घरमा आमाछोरा एक्लै रहे । त्यसबेला गाउँमा प्राईमरी स्कुल स्थापना भैसके पनि त्यसबखत ठुलो भएपछि मात्रै स्कुल जाने चलन थियो । उनी पनि अलि ठुलो भएपछि स्कुल जान थाले । पढाईमा उनको रुचि थियो । पढ्न थालेपछि सँधै प्रथम भए । पाँच कक्षामा पढ्नेहरु त्यसबेला अठार बिस बर्ष सम्मको हुन्थे । उनको उमेर पाँच कक्षामा पढ्दा लगभग पन्ध्र बर्ष पुगेको थियो ।

खेल्दै रमाउदै बाल्यकाल बित्दै थियो । पाँच कक्षा भन्दा माथी पढाई हुने स्कुल गाउँमा थिएन । त्यसपछि कि सिलगढी जानु पर्थ्यो की तिखातरको लेकगडामा । उनको पढ्ने चाहना झनझन बिउँझिदै थियो । घरमा कोही थिएनन् । आमा मात्र थिईन । सिलगढी जानु भन्दा नजिकको लेकगडा गएर भएपनि पढ्नु पर्छ भनेर छ कक्षामा भर्ना भए । छ कक्षा पढ्दा १६ बर्षको उमेर थियो । त्यसैबेला आमाले संसार छोडेर गईन । पढ्ने धोको त्यत्तिकै सकियो ।

त्यसपछि सुरु भयो एक्लो जीवन । घरको सम्पुर्ण जिम्मेबारी काँधमा आईपर्यो । खेतीपाती आफैंले समाल्नु पर्यो । के गर्ने कसो गर्ने ? सोच्न सक्ने न उमेर थियो, न सही बाटो देखाईदिने मान्छेहरु नै पाए । अरु सरह घरको काम गर्दै दिनहरु बित्न थाले । तर, केही कुरा जान्ने सिक्ने र गर्ने उत्सुकताले कहिल्यै छोडेन । एक्लो घरमा एक्लो ज्यान के गरे कस्तो हुन्छ कस्ले भनिदिने ? आफ्नो अभिभावक आफैं बने । जस्तो आइपर्यो सामना गरे । ती दिनहरु सम्झिदै अझपनि भन्छन्–‘मलाई भगवानले नै बाटो देखाएर यहाँसम्म ल्याई पुर्याएका हुन् ।’

जोगी सिं कुवँर

जब बिहे भयो । जीवनले गती लिन थाल्यो । केही सहजता थपियो । राम रमिता र मेला पर्वहरुमा निस्किने समय मिल्न थाल्यो । त्यो बेला रेडियोले पनि धेरै कुरा सिकाउँथ्यो । तर घरमा सबैले रेडियो राख्न पाउदैन थे । रेडियो किन्न सजिलो थिएन । तै पनि २०३१ सालमा सिलगढी गएर रेडियो किने । अहिले सुन्दा अचम्म लाग्छ, त्यसबेला रेडियो बजाए बापत पोता (कर) तिर्नु पर्दथ्यो । जिल्ला बिकासमा रेडियो दर्ता गराए । केही बर्ष पोता तिरेर रेडियो बजाए । बेलाबेला नबिकरण गरिरहनु पर्दथ्यो । २०३६ सालको बहुदलपछि रेडियो नविकरण गर्नु परेन । त्यसपछि निर्धक्क रेडियो सुन्न पाए । पोता तिर्नुपर्ने झन्झट सकियो ।

२०३१ सालमा सिलगढी गएर रेडियो किने । अहिले सुन्दा अचम्म लाग्छ, त्यसबेला रेडियो बजाए बापत पोता (कर) तिर्नु पर्दथ्यो । जिल्ला बिकासमा रेडियो दर्ता गराए । केही बर्ष पोता तिरेर रेडियो बजाए ।

त्यसबेला गाउँगाउँमा सामुहिक रुपमै सल्लाह गरेर लामो बाटो हिडेर तिर्थयात्रामा निस्किन्थे । सकुन्जेल तिर्थ गर्नुपर्छ भन्ने चेत उनमा आयो । २०३४ साल देखि २०४३ साल सम्म तिर्थ यात्रा गरे । त्यही तिर्थ यात्राले उनको पढ्ने भोक बल्झाई दियो । तिर्थ जाँदा भेटिए जति धार्मिक किताबहरु बोकेर ल्याए । किताबहरु पढ्दा पढ्दै किताब पढ्ने बानी नै पर्यो । त्यसपछि धर्मग्रन्थ सँगै साहित्य र भिन्न–भिन्न ब्यक्तिका जीवनी पढ्न थाले । किताब थपिँदै गए । किताबहरुको चाङ लाग्यो । पढ्न छोडेनन् ।

केही फरक र नयाँ गर्नुपर्छ भन्ने चेतना जागृत भैसकेको थियो उनमा । २०४४ सालमा बारीमा २०० बोट सुन्तला रोपे । बारी मासेर सुन्तला लगायो भनेर धेरैले आलोचना गरे । उनले अरुको आलोचना नसुने जस्तो गरे । सुन्तलाको हेरचाह गरे । जब सुन्तला फल्न थाले आलोचना गर्नेहरुले पनि सुन्तला लगाउन सुरु गरे । त्यसबखत लगाएको सुन्तलाबारीले अहिले सम्म फल दिँदै छ । उद्योगको वरिपरी रहेको सुन्तलाको बारी मंसिरको महिनामा लोभ लाग्दो देखिन्छ ।

डोटी र अछामका धेरै गाउँहरुमा डेउडा खेलेको सम्झना छ उनलाई । २०४४ सालमा बडीमालिकाको तिर्थयात्रा जाँदा बाजुराको लवडुम्रामा खेलेको डेउडा जीवनको अन्तिम डेउडा बन्यो । उनी भन्छन –‘अब त डेउडाहरु उहिलेका जस्ता रहेनन् । खेल्ने मान्छे र गीतेरु रहेनन् । बिकृती मौलाउन थाल्यो । त्यसपछि रहर पनि रहेन । आफ्नै उद्योगको डेउडा सुरु गरे ।’

२०४५ सालमा बिस हजारमा कपडा बुन्ने मेसिन किने । घरेलु उद्योगका प्राविधिक कास्की घर भएका हरिबहादुर क्षेत्रीले राजपुरबाट घरमै आएर मेसिनमा तान लगाईदिए । एक मिटर कपडा बुनेर देखाईदिए । जोगी सिं कुवँरका लागी सिकाई भने पनि तालिम भनेपनि त्यही एक मिटर कपडा बुनुन्जेलको समय थियो । त्यसपछि प्राविधिक राजपुर फर्किए । बिना तालिम धागोमा बुट्टा भर्नु, नाप निसानाहरु कोर्नु सजिलो थिएन । तर, उनको तिब्र इच्छा र मेहनतले असजिलो पनि सजिलो भयो । कुनै असहज नमानेर कपडा बुन्न सफल भए ।

कपडा बुन्न त सफल भए । तर, समाजले पत्याईदिनु मुस्किल थियो । आलोचना र खिसि गर्नेहरुले सुन्तला रोप्ता जसरी खिसी गरे कपडा बुन्दा पनि गरीरहे । खिल्ली उडाईरहे । रमिता हेरिरहे । तर, मेहनत गरे सफलता मिल्छ भन्ने बुझेका उनले कसैलाई वास्ता नगरेर कपडा बुनी रहे ।

काठमाडौं सहजै पुग्न सकिने नेपाल सुदूरपश्चिमका लागी थिएन । कर्णालीमा पुल बनेको थिएन । भारतको गौरीफन्टाको बाटो हुँदै पलिया गएर नानपारा, रुपडिया हुँदै नेपालगन्ज पुग्नु पर्थ्यो ।

कपडा उत्पादन हुन थाले । धेरैका काँधमा उनैले बुनेका गल्बन्दीहरु देखिने थाले । ढाका टोपी लगाउने सयौं मान्छेका टाउकोमा उनैले बुनेर सिलाएका टोपी देखिन थाले । टिकाउ र न्यानो हुने भएर नै उनले बुनेको सलले धेरैको आङ् न्यानो बनायो । त्यसपछि आलोचना गर्नेहरु ग्राहक बनेर उनी सँगै कपडा किन्न थाले । आसपासका गाउँमा नाताले धेरैका बाजे पर्छन उनी । घरेलु उद्योग सञ्चालन गरेकै कारण सबैले ‘घरेलु बाजे’ भनेर चिन्न थाले । उनको उपनाम नै गाउँ घरमा ‘घरेलु बाजे’ रहन गयो ।

उद्योग सुरु गर्दा दिपायलबाट धनगढी पुग्न कच्ची बाटोमा बसले तीन दिन लगाउथ्यो । उद्योगमा चाहिने कच्चापदार्थ गाउँमा पाईदैन थें । सामानका लागी त्यत्ति बेलाको नेपाल अर्थात काठमाडौं पुग्नु पर्दथ्यो । काठमाडौं सहजै पुग्न सकिने नेपाल सुदूरपश्चिमका लागी थिएन । कर्णालीमा पुल बनेको थिएन । भारतको गौरीफन्टाको बाटो हुँदै पलिया गएर नानपारा, रुपडिया हुँदै नेपालगन्ज पुग्नु पर्थ्यो । नेपालगन्जबाट एक सय साठी रुपैँयाको टिकट काटेपछि काठमाडौंको बस पाईन्थ्यो । त्यही बाटो भएर काठमाडौंबाट कठिन पुर्वका सामान दिपायल पुग्थ्यो । दिपायलबाट भरिया सँगै आफूले पिठ्युमा बोकेर तीन चार घण्टामा डोटीको वायल पुर्याउथें । आफूले मात्रै सिकेर हुँदैन भनेर ढाका टोपी बुन्न अरुलाई पनि सिकाए । काठका मेसिनहरु बनाईदिएर केही व्यक्तिलाई रोजगारी समेत दिए ।

काठमाडौंमा निर्भर भएर कपडा बनाउन गाह्रो भयो भनेर गाउँमै धागो बनाउनुपर्छ भन्ने सोचेले कपासको बिउ ल्याएर सित्तैमा धेरैलाई रोप्न भने । कसैले उत्पादन गरिदिएनन् । धागोको लागी भारतका बिभिन्न सहर पुगे । भन्सारको झण्झट र बिश्वासिला मान्छेहरु नभेटिएपछि भारतबाट धागो ल्याउने काम बन्द गरे । फेरी काठमाडौंको कच्चा पदार्थलाई निरन्तरता दिए ।

जब बि.स २०५० सालमा कर्णालीमा पुल बन्यो । २०५२ सालमा दिपायल देखि धनगढी सम्मको बाटो कालो पत्रे भयो । त्यसपछि उनले राहतको सास फेरे । सामान आयात गर्न सहज भयो ।

त्यो समय सम्झिँदा अहिले उद्यम र उद्योग गर्नेहरुलाई बाहार छ भन्छन उनी । आफ्नो भोगाई र देखाइले यो देशको नीति र मान्छेका सोचाईले उद्योग फस्टाउन अझपनि धेरै कठिनाई रहेको उनको ठम्याई छ ।

सुदूरपश्चिमबाट घरेलु उद्योगका एक्ला प्रतिनिधी भएर २० बर्ष सम्म काठमाडौं हिँडीहरहे । कुवँर घरेलु कपडा उद्योगको स्टल राखेर भृकुटीमण्डपमा धेरै वर्ष पर्दशनीमा बसे । २०४८ साल देखिको त्यो निरन्तर यात्रालाई २०६८ सालमा बिराम दिए । त्यसपछि काठमाडौं दौडिने मन गरेनन् । काठमाडौंमा हुने उद्योगको प्रर्दशनीमा पुग्दा र कच्चा पदार्थ लिँदाका धेरै सम्झनाहरु छन उनी सँग । भक्तपुर ठिमीका हिराकाजी रंजीतकारबाट लगभग बाह्र बर्ष धागो लगे । त्यसबखत हिराकाजी सँग ६० वटा पावरलुम थिए । हिराकाजी आफू हाइस्कुलको शिक्षक थिए ।

२०५६ सालमा हिराकाजी रंजीतकार उपचार गराएर बेलायतबाट फर्किए । कुवँरको उद्योग प्रतिको लगाव र मेहनत देखेर रंजीतकारले बिकट गाउँमा उद्योग गर्न काठमाडौंको कच्चापदार्थ बोकेर कठिन हुन्छ, गाउँका मेसिन गाउँमै छोडेर सबै परिवार काठमाडौं आउन आग्रह गरे । सहयोग गर्ने प्रतिबद्धता गरे । रंजीतकारको आग्रहलाई कुवँरले स्विकार्न सकेनन् । उनको लक्ष्य गाउँमै उद्योगको बिउ रोप्नु थियो । जन्मभूमी शून्य पारेर काठमाडौं आउन नसक्ने कुरा रंजीतकार सँग भने । त्यो नै रंजीतकार सँगको अन्तिम कुराकानी हुन पुग्यो । रंजीतकार रहेनन् ।

त्यसबेला काठमाडौंमा सय रुपैया पर्ने बनिबनाउ कपडालाई गाउँमा लगेर तिन सय रुपैयामा बेच्न सकिन्थ्यो । पैसा कमाउने आईडिया जोगी सिं कुवँर सँग नभएको होईन । उनलाई फरक चेतनाले छोएको थियो । गाउँ पनि आत्मनिर्भर बन्नुपर्छ । सबैले छोड्दै गयो भने गाउँहरु गाउँ रहदैन भन्ने उनको चेतनाले भनिरह्यो । जस्तो सुकै परिस्थितीमा पनि उद्योगलाई निरन्तरता दिईरहे । गाउँपनि एक दिन आत्म निर्भरतामा बाँच्न सिक्नेछन् भन्ने सपना देखिरहे ।

रेडियोले परिवर्तनका समाचार भनेपनि गाउँहरु भने परनिर्भरताले झांगिदै गएको उनको बुझाई छ । समय सँगै मान्छेहरुको मानसिकता परिर्वतन हुन सकेन भन्ने धक छ ।

यतिखेर उमेरले ६३ बर्ष पार गर्दैछन् । उद्योग ढल्मलिँदै चलिरहेकै छ । जीवनभरी उद्योगमै सर्मपित भएर धागो उन्दा उन्दै, गाउँहरु डुल्दाडुल्दै मार्केट बन्यो । मार्केट त बन्यो तर, अब ग्राहकहरु सँग लुकेर हिँड्नुपर्ने अवस्था आएको छ । माग बढी छ उत्पादन कम छ । ४५ सालदेखि उनैले बनाएका टोपी लगाउनेहरु गाउँघरमा कयौं छन् । ती मान्छेहरुले घरेलु उद्योगको टोपी गल्बन्दी र सल नै चाहियो भन्छन् । तर कपडा उद्योगको चाहना सन्ततीहरुमा छैन । उत्पादन घट्दै गईरहेको छ । ‘जवानीमा जस्तो जोस जाँगर छैन । सन्ततिलाई मतलव भएन ।’ उनी विगतको कुरा सम्झँदै भन्छन् ।

अहिले उनको उद्योगको आँगनमै गाडी आईपुगेको छ । उद्योग सुरुगर्दाका दिनहरु अपत्यारीला बनिसके । उद्योगले गती लिन सकेन । सबै संर्घषहरु कथा भैगए । सम्झना भैगए । बारीमा लटरम्म सुन्तला फल्छन् । मेसिनहरु बिस्तारै भएपनि खटखट चलिरहन्छन् । उद्योग रहेको आँगनबाट सिलगढीको आकास नियाल्दै अझै कपडा बुनिरहन्छन । काँटीमा झुण्डिएर पुराना दिनका गीत गाउँदै बेलाबेला रेडियोले परिवर्तनका समाचार भन्छ । रेडियोले परिवर्तनका समाचार भनेपनि गाउँहरु भने परनिर्भरताले झांगिदै गएको उनको बुझाई छ । समय सँगै मान्छेहरुको मानसिकता परिर्वतन हुन सकेन भन्ने धक छ ।

उद्योगलाई यहाँ सम्म ल्याई पुर्याउँदाको ऋणले अलिकती छोएकै छ । ‘ऋणबाट उम्किन सके जीवनको खुसी त्यही हुनेछ । बाँचुन्जेल सम्म, सकुन्जेल सम्म मेसिनहरुमा खिया लाग्ने छैन ।’ कुँवरको चाहना छ ।

प्रतिकृयाहरु
Loading...