कोरोनाको महामारी हटाउन चितवनमा संसारिक पूजा

ध्रुवराज खनाल/चितवन । कोरोना भाईरस (कोभिड १९) ले अहिले विश्वलाईनै पिरोलिरहेका वेला चितवनको खैरहनीमा शनिवार संसारिक पूजा लगाईएको छ । कोरोना भाईरसको प्रकोप अन्त्यका लागि खैरहनी नगरपालिका १० शान्तिवजार र राप्ती नगरपालिका ८ भवानीवजारका स्थानीय मिलेर संसारिक पूजा लगाएका हुन् ।

रोगव्याधीले आक्रमण गरेका वेला यस्तो पूजा गर्दा प्रकोप हट्ने विश्वासका साथ पूजा लगाईएको स्थानीय हरिप्रसाद सापकोटाले बताए ।

रोगव्याधी फैलिएको वेला अग्रजहरुले पनि संसारिक पूजा लगाउने चलन रहेकाले अहिलेको कोरोना भाईरसको प्रकोप अन्त्यका लागि गाउँलेहरु मिलेर पूजा लगाईएको उनको भनाई छ ।

वि.सं. २०१७ सालमा पनि रोगको महामारी भएका वेला संसारिक पूजा लगाईएको अग्रजहरुले वताएको सापकोटाले जानकारी दिए । दुई जना पण्डितहरुले करिव ४ घण्टा लगाएर पूजा गराएका थिए ।

संसारिक पुजामा देवीको पूजा गर्ने गरिन्छ । पूजामा स्थानीय खेमप्रसाद दाहाल र बेदप्रसाद अधिकारी कर्ता थिए । पूजा गाउँको नजिक फाँटमा लगाईएको थियो । पूजा लगाउने भएपछि स्थानीयले स्वतस्फुर्त रुपमा सहयोग गरेका थिए ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाईरसको प्रकोप अहिले विश्वव्यापी रुपमा फैलिएको छ । यसबाट तीन लाख भन्दा वढिको ज्यान जानुका साथै लाखौ प्रभावित भएका छन् । नेपालमा पनि कोरोनाबाट १ हजार ४ सय जना संक्रमित भईसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *