संक्रमित क्षेत्रअनुसार लकडाउनको स्वरुप फेरिने, भारतबाट फर्किनेलाई सेनाले घर पठाउने

काठमाडौं । सरकारले जेठ २० गतेपछि कोरोना संक्रमित क्षेत्रअनुसार लकडाउनको स्वरुप परिवर्तन गर्ने भएको छ । लकडाउनलाई व्यवस्थित गर्दै सबैखाले जननीवन सामान्य बनाउन उच्च जोखिम भएका र जोखिम कम भएका क्षेत्रको लकडाउनको स्वरुप फेरिन भएको हो ।

शनिबार मात्रै सरकारले देशव्यापी रूपमा लगाएको लकडाउन जेठ महिनाको अन्तिमसम्म लम्ब्याउने निर्णय गरेको छ । तर जोखिमको अवस्थालाई मध्यनजर गर्दै लकडाउन केही खुकुलो बनाउने सरकारका प्रवक्ता एवम् अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

उनले भने, ‘लकडाउनलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिले छलफल गरेर मन्त्रिपरिषद्‍मा सिफारिस गर्ने छ । लकडाउन सबै क्षेत्रमा एउटै हुनसक्छ भन्ने होइन । अवस्था अनुसार केही फरक हुनसक्छ ।’

यसैगरी भारतबाट स्थलमार्ग हुँदै भित्रिएका नेपालीलाई घरसम्म पुर्‍याउने गरी आवश्यक सवारीसाधन व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको छ । नेपाल प्रवेश गरेकाहरूको तीनपुस्ते विवरण संकलनका लागि ‘होल्डिङ सेन्टर’ मा राख्ने र त्यसपछि सेनाले व्यवस्था गरेका सवारीसाधनमार्फत सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर त्यसतर्फ पठाउने व्यवस्था सरकारले गरेको हो ।

यसका लागि स्थानीय प्रशासन र प्रदेश सरकारसँग समन्वय गरेर यातायात व्यवसायीलाई आवश्यक सवारीसाधन उपलव्ध गराइदिनेबारे छलफल भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *