‘गणतान्त्रिक सरकारको कार्यशैली पनि पञ्‍चायत र राजतन्त्रको जस्तो भयो’

काठमाडौं। नेकपाकी सांसद पम्फा भुसालले गणतान्त्रिक सरकारको कार्यशैली पञ्चायत र राजतन्त्रको जस्तो भएको बताएकी छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा बजेटमाथि छलफलका क्रममा भुसालले सांसदले बोलेका कुरा बजेटमा नसमेट्ने राजतन्त्र र पञ्चायतको शैली र विधि अहिले पनि यथावत् रहेको बताइन्।

उनले भनेकी छन्, ‘हामीले धेरै ठुलो राजनीतिक परिवर्तन गर्‍यौं। तर हाम्रो कार्यशैली र विधि चाहिँ हिजोको राष्ट्रिय पञ्चायत, राजतन्त्रात्मक बहुदलीय व्यवस्था र समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसम्म आउँदा पनि त्यही छ। बजेट जे प्रस्तुत भयो ‘प्लस माइन’ एक रुपैयाँ पनि हुँदैन। नीतिमा जे प्रस्तुत भयो ‘कमा फुलस्टप’मा पनि परिवर्तन हुँदैन। त्यस कारण यहाँ बोल्नु बौद्धिक विलाशजस्तो हुन्छ। बोलेर सुधार हुन्न। आफूले बोलेकोमा सुधार हुन्न भने बोल्नुको अर्थ छैन।’

सांसदहरूले बजेटमाथि बोलेका कुरा सरकारले नसमेट्ने गरेकाले अर्थहीन छलफल संसद्मा हुने गरेको भुसालको भनाइ थियो। नयाँ राजनीतिक व्यवस्था भएको देशमा प्रतिपक्षी वा सत्ता पक्षका सांसदहरूको राम्रो सुझावहरू बजेटमा समावेश हुनुपर्नेमा उनको जोड छ। तर सरकारको नीति तथा कार्यक्रम र बजेटमाथि सांसदले बोलेका कुरा र दिएका सुझाव समावेश नहुने भएकोले संसद्मा बोल्नु र नबोल्नुको अर्थ नभएको उनको भनाइ छ।

नीति तथा कार्यक्रम र बजेट राष्ट्रको नै हुनेभएकोले त्यसमा सबै सकारात्मक कुरालाई समावेश गर्नुपर्ने विषयमा कञ्जुसाई गर्नु नहुने उनको धारणा छ। हिजोको परम्परागत साङ्लोको विधिमा वर्तमान समयको शासन व्यवस्था बाँधिन नहुने उनले बताइन्। भुसालले कोरोनाबाट प्रभावित जनताका लागि राहतका कार्यक्रम ल्याउनु सकारात्मक भएको, रोजगारीका प्रस्ताव आउनु सकारात्मक हुँदा पनि कार्यान्वयनको पाटो चुनौतीपूर्ण रहेको बताइन्।

उनले बजेट कार्यान्वयनका लागि परम्परागत रूपमा रहेको विद्यमान प्रशासनिक संयन्त्रमा परिवर्तन ल्याउन आवश्यक रहेको बताइन्। प्रशासनिक संरचनामा परिवर्तन गरेर चुस्त दुरुस्त प्रशासन र चुस्त दुरुस्त राज्यका निकायहरू, व्यक्ति हेरेर होइन जनताका लागि सेवा दिन आवश्यक संरचनाहरू मात्र राख्ने गरी पुनसंरचना गर्नुपर्नेमा उनले जोड दिइन्।

विदेशमा अलपत्र नेपालीलाई आफ्नो पैसामा स्वदेश आउँ भन्ने जस्तो विषय सरकारको गैरजिम्मेवारी अरू हुन नसक्ने उनले बताइन्। दुई महिनासम्म स्वदेश आउन नदिने र भएको पैसा खान बस्न सकिएपछि आफ्नो पैसामा आउँ भन्नु गैरजिम्मेवारी हुने सांसद भुसालले बताइन्। राज्य आफ्ना नागरिक प्रति जिम्मेवार हुनै पर्ने उनले बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *