कोरोना जितेकी गर्भवती भन्छिन्- ‘आत्मबल बढाए अवश्य सन्चो हुन्छ’

चितवन । तीन दिनमै निको भएकी मकवानपुरको हेटौंडाकी २५ वर्षीया गर्भवतीले कोरोना भाइरसको संक्रमण जित्न आत्मबल बलियो बनाउनुपर्ने बताएकी छन् ।

पाँच महिनाको गर्भ रहेकी उनलाई जेठ १५ गते कोरोना पुष्टि भएको थियो । त्यसपछि भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना भएकी उनी जेठ १८ गते नै डिस्चार्ज भएकी हुन् ।

भरतपुर अस्पतालमा उपचार गराई घर फर्कने क्रममा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भनिन् ‘कोरोना सङ्क्रमण हुनु भनेको सामान्य रुघाखोकी लाग्नु हो आत्मबल बलियो बनाउनुस् निको हुन्छ ।’

आफूलाई कोरोना सङ्क्रमण भएको भान नभएको बताउँदै उनले सङ्क्रमणसमेत कसरी भयो भन्ने विषयनै अन्योल रहेको बताईन् । आफूहरु लकडाउनको समयमा र त्यसअघि पनि खासै कतै नगएको भए पनि कोरोना सङ्क्रमण देखिएर त्यसलाई जित्न सफल भएको उनको भनाइ छ ।

कोरोना सङ्क्रमणले मान्छे मरिहाल्ने भन्ने नभएको उनको तर्क थियो । उनले भनिन् ‘कोरोना लाग्ने बित्तिकै मान्छे मरिहाल्ने भन्ने होइन । म गर्भवती हुँदा त तीन-चार दिनमा नै जाती भएँ । तपाईँहरु पनि आत्तिनु पर्दैन, तातोपानी खाने र आत्मविश्वास बढाए सञ्चो भइन्छ ।’

कोरोना सङ्क्रमण देखिए पनि आत्मबल बढाएर चिकित्सकको सल्लाहबमोजिमका क्रियाकलाप गरे यसलाई जित्न सहज हुने उनले जानकारी दिइन् । आफूहरु जेठ ९ गते चितवनबाट हेटौंडा घर गएको र १० गते क्वारेन्टिनमा बसेको समयमा स्वाब परीक्षणका लागि नमूना लिइसकेपछि घर गएको र नतिजा पोजेटिभ आएपछि उपचारका लागि यहाँ आएको उनले बताइन् ।

भरतपुर अस्पतालको सेवा सुविधाबाट आफू सन्तुष्ट रहेको उनको भनाइ थियो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उनको नमूना लिइएको एक सातापछि शुक्रबार र शनिबार गरी पुनः स्वाब परीक्षण गर्ने क्रममा नेगेटिभ आएको थियो । नतिजा नेगेटिभ आएपछि उहाँलाई आइतबार बिदाइ गरिएको हो ।

बिदाइ गर्दै अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले कोरोना सङ्क्रमण निको भए पनि थप १४ दिन घरमै सुरक्षित बस्न आग्रह गरे । समस्या देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क राख्नसमेत उनले सुझाव दिए । ।

सोही अवसरमा अस्पतालका प्रसूति विभाग प्रमुख डा सुनिलमणि पोखरेलले गर्भवती भएको समयमा कोरोना देखिए बच्चामा असर नपर्ने भन्दै आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गरे । भरतपुर अस्पतालमा यसअघि पूर्वी चितवनको राप्ती नगरपालिकाका आमा छोरा पनि कोरोना जितेर फर्किसकेका छन् ।

अहिले भरतपुर अस्पतालमा दुई जना र भरतपुर कोरोना विशेष अस्पतालमा चार जना सङ्क्रमित राखी उपचार गराइराखिएको सूचना अधिकारी पौडेलले जानकारी दिए । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *