मदिराले लठ्ठिएका साथीबीच मध्यरातमा भेट, ख्याल ठट्टामै हत्या !

इटहरी । इटहरी २० तरहरामा गएराति छुरा प्रहारबाट एक युवकको हत्या भएको छ । दुई समूहमा रहेका साथीबीच सामान्य विवाद हुँदा गरिएको छुरा प्रहारबाट २८ वर्षीय राजन राईको मृत्यु भएको हो ।

प्रहरीका अनुसार अत्याधिक मादक पदार्थ सेवन गरेका राई र स्थानीय केही युवाबीच झडप हुँदा छुरा प्रहार गरी उनको हत्या भएको हो । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठका अनुसार राजन राईकै घरमा तीनजना बसेर मादक पदार्थ सेवन गरेका थिए ।

मादक पदार्थ सेवन गरेपछि तीनजनाको समूह बजारमा निस्किएको र तरहराकै खिले भनिने खिलानाथ घिमिरेलाई फोन गरेका थिए । फोनमा एकछिन भेट्ने काम छ भनी कुराकानी भएको थियो । प्रहरीका अनुसार घटना भएको ठाउँमा जडान गरिएको सिसिटिभी फुटेजमा बाँसले हानेको दृश्य देखिन्छ । ६ जनाको समूहबीच झगडा भएको र जसमा छुट्याउने तीनजना देखिन्छन् ।

राजन राई, अनिल दाहाल र लक्ष्मण गुरुङ सँगै बसेर मापसे गरेका थिए । मापसे गरेपछि राजनले घिमिरेलाई फोन गरेपछि उनीहरुबीच भेट भएको थियो । भेटमा अभिषेक पौडेल, अभिषेक केसी र प्रज्वल तामाङ पनि साथमा रहेका थिए । राजनले उनीहरुसँग भेट हुनुभन्दा अगाडि नै म खिलेलाई कुटेजस्तो गर्छु, के गर्दोरहेछ जिस्काउँ न भनेर भनेको खुलेको छ ।

जिस्किँदा जिस्कदै उनीहरुबीच सामान्य विषयलाई ठूलो बनाइएको र त्यसपछि छुरा प्रहार गरी हत्या गरिएको प्रहरीको भनाइ छ । प्रज्वलसँगै अभिषेक पौडेल, अभिषेक केसी र कृष्ण घिमिरे पनि घटनामा संलग्न थिए । उनीहरु अहिले फरार रहेको र खोजी कार्य भएको प्रहरीले जनाएको छ ।

छुरा प्रहारपछि गम्भीर घाइते भएका राजनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटोमै मृत्यु प्रतिष्ठानले पुष्टि गरेको छ । गत फागुनमा मात्रै युकेबाट आएका राजनको लकडाउन अवधि सुरु भएको केही सातामै युके जाने भिसा थियो । तर, लकडाउनका कारण उनी युके फर्कन नपाएपछि यहीँ बस्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *