टलम्यान् प्रकाश थापा

  • प्रकाश सायमी

नायिका करिश्मा मानन्धर निकै चर्चामा रहिन्, तर करिश्मालाई साँच्चै चर्चामा ल्याउने पहिलो कुरा थियो फिल्म ‘सन्तान’ र त्यसको डायलग कान्ता यू ब्लडी विच् । यो संवाद् र यो सिनेमा उनका निम्ति प्रकाश थापाले बनाएका थिए तर आजकाल प्रकाश थापा ओझेलमा परेका छन्, करिश्माले उज्यालो छोडेको छैनन् ।

यस्ता घटना सिनेवृत्तमा सर्वप्रायः हुने गर्छन् ।

प्रकाश थापा नेपाली सिने उद्योगको धुनी जगाउने एक निर्देशक हुन् । प्रकाश थापा समयको यो आरेखमा कुनै फुटबल खेलाडी हो कि कुनै पूर्व सैनिकको पहिचान हो कि जस्तो जस्तो भएको छ । तर यो चानचुन नाम होइन ।

प्रकाश सायमी

प्रकाश थापा जुन नामबाट नेपालीमा व्यावसायिक चलचित्रको बाटो बनेको थियो, नेपाली चलचित्र सरकारी लगानीबाट निजी क्षेत्रतर्फ अग्रसर गराउनुमा प्रकाश थापाको विशेषाधिक देन छ । प्रकाश थापा वितेको एक दशक चानचुन भयो तर सिने कलाकारले, चलचित्र उद्यमीले, चलचित्र पत्रकारले उनलाई कहिले कतै कुनै कारणले दोहोर्याएर सम्झेको देखिँदैन । उनी त्यसरी सम्झिनु पर्ने नाम होइन ।

एउटा क्लासिक लेखकलाई जस्तै अद्भुत विशेषताका साथ हामी उनका आविष्कारलाई विना उनीप्रति आभारी भई महशुश गरिदिन्छौँ । प्रकाश थापा मुम्बईबाट फिल्मौद्योगमा अभिनय गरेर आएका नेपाली अभिनेता मध्ये पहिलो होइनन् । प्रकाश थापा नेपालमा फिल्म बन्ने निर्देशक मध्ये पहिलो पनि अवश्य होइनन् । प्रकाश थापा नेपाली सिनेमा बनाएर विश्व सिने उद्योगमा नाम दर्ता गराउने सफल फिल्मकार पनि होइनन् ।

स्वर्गिय प्रकाश थापा

सामान्य र औसत स्तरको अध्ययन गरेका प्रकाश थापा नेपाली सिनेमालाई व्यावसायिक लिकमा ल्याउने एक प्रतिवद्ध सिनेकर्मी हुन् । उनी सिनेमा बनाउन भारतको मुम्बईबाट नेपाल आउँदा यहाँ सिनेमा बनाउँदै गरेका एक दुईजना व्यक्ति थिए जो सुस्ताइसकेका थिए, नवीन केसीको कहिँ दियो कहिँ बत्ती र सूर्यनाथ शर्माको मायालु डब्बा बन्द भइसकेका थिए ।

सिनेमा निर्माणका निम्ति निजी व्यवसायी र उद्योगीहरु के कति कारणले तयार थिएनन्, सम्भावनाको बाटो थिएन शायद । नियम विनिमयका कुरा थिएनन् । समाजमा इज्जत र आदर्शका कुरा विल्कुल थिएनन् । जब प्रकाश थापा सेतो शर्ट र सेतो पाइन्टमा उँचो कदमा एक्शन भन्न उभिए, त्रिकेटको क्रिजमा मोहिन्दर अमरनाथ उभिएजस्तै ।

उनले एक्शन भन्दा यहाँ एक्शन कट भन्ने कुनै जमात बनिसकेको थिएन । आज उनको घनघोर आवाजको पछि मान्छेले क्लोज शट, लंग शट, मोन्टाज, स्ट्याटिक शट भन्न सिके वा भन्दै गए । यस अघि यी र यस्ता धारका शब्द कुनै छापामा देखिनु, वा कुनै ध्वनि तरंगमा सुनिनु दुर्लभप्रायः थियो, उनले यसको बानी लगाई दिए २०३२ सालदेखि । उनी यसका प्रमिथस भए ।

प्रकाश थापाका जीवनका दुई दुर्गम क्षणहरु त्यही वेला शुरु भयो जब उनले पहिलो चलचित्र मनको वाँधकाे क्याप्टनशीप सम्हाले । अद्र्धसरकारी स्वामीत्वको शाही नेपाल चलचित्र संस्थानबाट मनको वाँध बनाउँदा त्यहाँ दरवार प्रत्यक्ष सक्रिय थियो भने त्यही संस्थानको बोर्डमा साहित्यकार बालकृष्ण सम, माधव घिमिरे जस्ता दिग्गज स्रष्टा सञ्चालक समितिमा आवद्ध थिए ।

नेपाली साहित्यससित दूर दूरको नाता नभएका बम्बैया बाबू प्रकाश थापालाई असफल बनाउन संस्थानकै प्राविधिक कर्मचारी सक्रिय थिए र यो फिल्म एक हिसाबले धराशायी नै भयो । मनको वाँधको फैलिएर पछि प्रकाश थापाका जीवनमा दोधार त्यसै आयो, गुरुदेश भारत फर्किने कि सम्भावना नभए पनि नेपालमै बसेर फिल्म बनाउने ?

दोस्रो अप्सनमा उनले क्लिक् गरे, आफ्नै लगानीमा उनले मेरो देश नामक् सिनेमा घोषणा गरे । दुर्भाग्यले यो सिनेमा पनि नबने पछि उनी फेरि थन्किए ।

शाही नेपाल चलचित्र संस्थानको तेस्रो फिल्म सिन्दूर बाट उनले कमव्याक् गरे । उनले यस फिल्मका लागि उपन्यासका दौलतविक्रम विष्टको कथा जब बादल फाट्छ किने । यस चलचित्रका निम्ति उनले पटकथा लेखनमा मुम्बईका देवू सेन र नायिकाका निम्ति मुम्बईमा संघर्षरत मीनाक्षी आनन्दको सहयोग लिइन् । संगीत निर्देशकमा उनले पहिलो पटक गोपाल योञ्जन र उनका सिनियर नातिकाजीलाई कम्बाइनमा लिए । यस फिल्मका निम्ति उनले छायाकारमा मुरारि ठाकुर र मञ्जुकुमार श्रेष्ठ अनि अन्य सहयोगमा चेतन कार्की, किरण खरेल, प्रदीप रिमाल, चैत्यदेवी सिंह, सतीश कोइरालाको सहयोग लिए ।

सिनेमा बन्यो । चल्यो ।

नेपाली सिनेमाको इतिहासमा पहिलो पटक काठमाण्डू उपत्यकामा ५२ हप्ता भीडका साथ चलेको यो पहिलो सिनेमा थियो र यो ऐतिहासिक रेकर्ड अरु सिनेमाले आज सम्म तोड्न सकेको छैन । यसपछि उनले जीवन रेखा बनाए, केशवराज पिंडालीको कथामा । यो सिनेमाले व्यावसायिक रेकर्ड तोड्न सफल भयो ।

नेपाली सिनेमा बन्नु ठूलो कुरा थियो त्यति वेला । र, बनेर चल्नु ठूलो कुुरा थियो त्यो वेला ।

हाम्रा सिनेमामा त्यतिवेला सत्यजित रे, आकिरा कुरोसावा, इँग्मार बर्गम्यान्, फेडरिको फेलिनीका कुरा हुन्थे तर लागू गर्न गाह्रो थियो । त्यतिवेला भारतवर्षमा फ्रान्सेली सिनेमाको नोभेला भेग –(नौलो धार) को प्रभाव आइसकेको थियो । हामी कहाँ नौभेला भेग पढेर आएका पिँढी तयार थिए तर प्रकाश थापाको बाटो त्यतातिर गएन ।

तीस दशकको अन्त्य र चालीस दशकको शुरुवातमा प्रकाश थापाको व्यासायिक लहरले काठमाण्डूका उद्यमीलाई नेपाली सिनेमा बनाउन प्रेरित गरे । यसपछि निजी क्षेत्रबाट केही सिने कम्पनीहरु जुमुराए, सुजाता फिल्म्स् को जुनी, हेम्स्को आदर्श नारी, त्रि ओम प्रोडक्शन्स्को कान्छी । यही समय दार्जीलिँगबाट प्रताप सुब्बा र मुम्बईबाट तुलसी घिमिरे र शम्भु प्रधान पनि देखा परे ।

प्रकाश थापाका दुई सिनेमा सिंदूर र जीवन रेखा का कारणले क्रमोवश रुपमा ल्याएको यो परिवर्तन उनका निम्ति पनि चुनौतीपूर्ण भयो । अब उनी भन्दा जान्ने निर्देशकहरु पनि मैदानमा आउन थाले ।

उनले यही समय निजी प्रोडक्शनबाट सन्तान नामक सिनेमा बनाए, सन्तानमा उनले आफ्नो ठूलो मिहेनतले मुम्बईका ख्यातनामामा सैक्सोफोनिस्ट मनोहरि सिंहलाई संगीतकारको रुपमा लिए । यही सिनेमा मार्फत् उनले नेपाली सिनेमाको पर्दामा दुई नयाँ नायिका करिश्मा केसी र गौरी मल्ललाई पदार्पण गराए भनें यही सिनेमाबाट नायकका रुपमा अर्जुनजंग शाही लाई पनि परिचय दिलाए यद्यपि यसअगि जीवन रेखामा उनले नयाँ नायक शिव श्रेष्ठलाई पर्दामा ल्याइसकेका थिए ।

यसवाहेक उनले चलचित्रको पर्दामा अभिनेताका रुपमा विश्व वस्नेत, गोपालराज मैनाली, हरिवंश आचार्य, शम्भुजित बाँसकोटा, क्रिष्टी केसी आदिलाई ल्याईसकेका थिए ।

मुम्बईको वर्लीमा हुर्केका प्रकाश थापाको मुम्बई कनेक्शनका कारण यसपछि नेपाली सिनेमाको कामधाम यसपछि मुम्बईमै हुन थाल्यो । मुम्बईको रफ्तारमा नेपाली सिनेमा व्यावसायिक बन्न थाल्यो । यसको श्रेय दुई शब्दमा भन्दा प्रकाश थापालाई नै जान्छ । प्रकाश थापाले नेपाली सिनेमामा धेरै प्रयोग गर्न चाहेनन् किनकि उनले जानेको पनि त्यति नै थियो । एक असफल अभिनेताका रुपमा फिल्मी जीवनमा प्रवेश गरेका प्रकाश थापाको सिनेमायी पृष्ठभूमि निर्देशकका रुपमा त्यति स्पष्ट थिएन ।

धनकुटाको मुगाबाट काठमाण्डू आएर सातसालको क्रान्ति पछि शान्त शम्सेरको परिवारसित मुम्बई पलायन भएका थापाका पिता उद्दीप सिंह थापा अँग्रेजी साहित्यका अध्येता थिए र अनुवादक पनि । उनैको छत्रछायाँमा उनले साहित्य पढे तर धेरै कम । तर प्रकाश थापाले नेपाली सिनेमामा सबभन्दा धेरै साहित्यिक जगतकै सहयोग लिए, माधव घिमिरे, दौलतविक्रम विष्ट, चेतन कार्की, श्रीधर खनाल, केशवराज पिंडाली, कालिप्रसाद रिजाल, लक्ष्मण लोहनी आदिको ।

सिनेमा निर्माणका क्रममा नेपालमा निर्देशकलाई उनले टेक्निकली साउन्ड हुन र पल्टीकल्ली करेक्ट हुन बाटो देखाए ।

उनको चौथो तर निजी क्षेत्रबाट बनेको उनको पहिलो सिनेमा सन्तानको पहिलो प्रिभ्यू उनीसितै बसेर मुम्बईको अँधेरीस्थित फिल्मालयमा हेर्ने मौका मिल्यो । यस प्रदर्शनीमा अभिनेता डैनी डेन्जोँग्पा, निर्देशक उग्येन, गायक उदीतनारायण झा, गायिका दीपा गहतराज सहभागी थिए । त्यस क्रममा उनले गर्व गर्दै भनेका थिए, नेपाली सिनेमा यहाँ आइपुग्ला भनेर मैले कल्पनै गरेको थिइँन तर नेपाली सिनेमा यहाँ नआईपुगेको भए म पनि मुम्बईको भीडमै हराई सक्थेँ ।

प्रकाश थापाका यी भावभिनी शब्द सुनेपछि बाटोमा फर्किँदै गर्दा गायिका दीपा गहतराजले भनेका पंक्ति म आज पनि सम्झिन्छु, प्रकाश थापा नेपाली सिनेमाका एक मात्र ड्यासिंङ डायरेक्टर हुन् । उनको मुकाविलामा अरु कोही छैन, हि अज् अल्वेज् टल ।

नेपाली सिने उद्योगका ‘ए टल म्यान् प्रकाश थापा’ले सन्तान पछि कन्यादान बनाए, कन्यादान कै समय नेपाली टेलिभिजनको इतिहासमा उजेली जस्तो सिरियलको चर्चा भइसकेको थियो । उनले यही शैलीलाई पर्दामा ल्याए । यसपछि बनाएको महामाया भन्ने फिल्मले उनलाई असफलताको संघारमा पुर्याई दियो । असफलताले उनको जीवनको रंग नै बदलिई दियो ।
सिनेमामा आएका नयाँ प्रविधि र परिधिसित उनी परिचित थिए तर सतर्क थिएनन् ।

महामाया पछि उनले विश्राम लिए । फेरि हेर्दा समय मौन भइसकेको थियो, उनले चिन्ने र नचिन्नेको लश्कर अघि वढ्दै थियो । उनको साइलेन्स् भन्ने आवाज शान्त भइसकेको थियो । उनी चूपचाप एक किनार लागे, मानौँ इतिहासको एउटा पाना जस्तो ।

केही अन्तराल पछि उनलाई पुनः निर्माता भगवानदास श्रेष्ठले नाता रगतको बाट पुनरागमन गराए । सन्तानका निर्माता भगवादासको पनि यो वाह्रवर्ष पछिको कमब्याक् थियो । २०५६ सालको फिल्म महोत्सवमा यही सिनेमाबाट उनले सर्वोत्कृष्ट निर्देशकको पुरस्कार पाए, प्रतिस्पर्धीमा उनी सित उग्येन र उज्वल घिमिरे थिए ।

उनले पुरस्कार जित्दा सबै आशावादी थिए, अब उनको आगमन जोडदार हुनेछ । सिनेमाको इतिहासमा यस्तो घटना विरलै हुन्छ । उनले रिटायर्ड हल्ट लिए, क्रिकेटमा ९० र शतकका वीचको पारीमा जस्तै । प्रकाश थापा वानेश्वरको हाइटमा एक एकान्तप्रिय जीवनमा गुम्सिए, थाकेका धेरै हारेका कम । सुनिएका धेरै देखिएका कम ।

उनको निधनको एक दशक पछि र यसवीच उनका चलचित्र कुनै हलमा अहिले सम्म लागेका छैनन् । धेरै कुरा बद्लिसकेका छन्, पर्दा, समय र मान्छे । तर हरेक वर्षको तीज भरि उनको चलचित्रको एउटै गीत (संयोगले नेपाली चलचित्रको एउटै गीत) तीजको रहर वरि आयो लै मा नेपाली चेली नाच्छन्, झुम्छन् गाउँछन् । कन्यादानको यो गीत प्रकाश थापाले चेतन कार्कीलाई नलेखाएको भए, वा मनोहरि सिंहलाई संगीत नगराएको भए हाम्रा चेलीको तीज अलि सुख्खा नै हुन्थ्यो होला शायद ।

गीत–संगीत, सिनेमा साहित्यका कारण नेपाली समाजमा यति ठूला वृत्त बनाउने ‘ए टलम्यान् प्रकाश थापा’का निम्ति हामीले हाम्रो मनको कुनै कुनामा वा हाम्रा अखबारका पानामा एउटा सानो स्पेस पनि दिन नसक्नु हाम्रो दुर्भाग्य हो जस्तो लाग्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *