संविधान संशोधन विधेयक दर्ता गराउन सिंहदरबार पुगे राजपा र समाजवादीका नेता

काठमाडौं। राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीका नेता संविधान संशोधन विधेयक दर्ता गराउन संघीय संसद् सचिवालय पुगेका छन्। संसद् सचिवालय विधेयक शाखाका प्रमुख नारायण ढकालले संशोधन प्रस्ताव प्राप्त भएको र अध्ययनको क्रममा रहेको बताए।

‘दुवै दलका नेताहरू प्रस्ताव ल्याएर आउनुभएको छ। हामी अध्ययन गरिरहेका छौँ,’ ढकालले भने, ‘दर्ता भएको छैन।’ सरकारले नयाँ नक्सा अनुरूप निशान छाप परिवर्तन गर्न संविधान संशोधन विधेयक अगाडि बढाएलगत्तै समाजवादी र राजपाले पुरानो संविधान संशोधनको माग ब्यूँताएका हुन्।

यसअघि राजपा एक्लै संविधान संशोधन विधेयक लिएर संसद् सचिवालय गएको थियो। जुन संसद् सचिवालयमा दर्ता भएन। समाजवादी पार्टीका नेताहरूलाई पनि साथमा लिएर राजपा फेरि संविधान संशोधनको गैर सरकारी विधेयक लिएर संसद् सचिवालय पुगेको हो।

राजपा र समाजवादीले तयार पारेको विधेयकमा भाषा, नागरिकता, प्रदेशको सिमांकन परिवर्तन सम्बन्धमा जुन जुन प्रदेशको सीमासँग सम्बन्धित व्यवस्था परिमार्जन गर्नुपर्ने माग राख्दै आएका छन्। त्यस्तै, राज्य पुनर्संरचनाका लागि संयन्त्र गठन गर्नुपर्ने पनि उनीहरूको माग छ।

गैर-सरकारी संशोधन विधेयक दर्ता भए पनि विधेयक संघीय संसद्मा अगाडि बढाउने/नबढाउने अधिकार सभामुखसँग हुन्छ। संविधान संशोधनका लागि दुई तिहाइ मत आवश्यक हुन्छ। तर सत्तारुढ नेकपाको मतबिना संशोधन सम्भव छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *