लकडाउनको ढाँचा फेर्दै सरकार, आन्तरिक आवागमन खुकुलो बनाइने

काठमाडौं । सरकारले लकडाउनको मोडालिटी (ढाँचा)मा केही फेरबदल गर्ने भएको छ । संक्रमित क्षेत्र र जोखिमको अवस्था हेरेर लकडाउनको मोडालिटी परिर्वतन गरिने भएको हो ।

निरन्तर एकै प्रकृतिको लकडाउन कायम राखिएपछि सरकारलाई चौतर्फी दबाब छ । यो दबाबका बीच जेठ मसान्तसम्म लकडाउन लम्ब्याउने निर्णय गरेसँगै सरकारले ढाँचा बदल्ने तयारी गरेको हो । जसअनुसार नयाँ ढाँचा तयार गर्न कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको छ ।

निर्देशनअनुसार समिति र कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले नयाँ ढाँचा बनाइरहेका छन् । जोखिमको अवस्थालाई मध्यनजर गर्दै लकडाउन अब क्रमशस् सामान्य बनाउँदै जानुपर्ने आवश्यकता बोध भएको छ उच्चस्तरीय समन्वय समितिका सदस्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताए । सम्भवतः २१ जेठदेखि नै लकडाउनको ढाँचामा केही परिवर्तन हुने अनुमान गरिएको छ ।

यसअघि खाद्यान्न, कृषि, निर्माणलगायत अत्यावश्यक गरी झन्डै ४० प्रकारका सेवासँग सम्बन्धित कलकारखानामा सामाजिक दूरी र स्वास्थ्य सावधानी अपनाएर काम गर्न सक्ने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको छ । अब उत्पादनमूलक र सेवामूलक क्षेत्र छुट्याएर कुनलाई कसरी सञ्चालन गर्ने भन्ने ढाँचा तयार गरी आजै सरकारलाई प्रस्ताव गरिनेछ ।

अन्य मुलुकले आर्थिक गतिविधि ठप्प र जनजीवनसमेत अस्तव्यस्त बनेपछि लकडाउनलाई खुकुलो पारिसकेका छन् । संक्रमितहरूको अवस्था, त्यहाँको जनसंख्या, स्वास्थ्य उपचारको सम्भावित उपलब्धता हेरेर ठाउँ विशेषमा लकडाउनको ढाँचा परिवर्तन हुने उच्चस्तरीय समन्वय समितिका सदस्य पर्यटनमन्त्री भट्टराईले जानकारी दिए ।

हाल कम जोखिम देखिएका हिमाली, पहाडी जिल्ला र काठमाडौं उपत्यकालगायतमा आवागमन खुकुलो बनाइने सम्भावना छ । बढी जमघट हुने स्थानबाहेक अन्य क्षेत्रमा खुकुलो हुनेछ । सार्वजनिक यातायात तत्काल खुला नभए पनि केही स्थिति आकलन गरी आन्तरिक हवाई उडान खुलाउने विषयमा कुरा भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *