रौतहटमा ४ महिने जुम्ल्याहा शिशुसहित आमामा देखियो कोरोना !

काठमाडौं । रौतहटमा तीन महिने जुम्ल्याहा शिशु र आमामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

त्यहाँको ईशनाथ नगरपालिका–२ कि सुत्केरी आमासहित दुई जुम्ल्याहा बच्चामा समेत कोरोना संक्रमण पुष्टि भएको नगर स्वास्थ्य संयोजक ईसराजुलल खानले मकालु खबरलाई जानकारी दिए ।

ईशनाथ नगरपालिका भारतीय सीमासँग जोडिएको छ । केही दिनअघि श्रीमानसँगै भारतको दिल्लीबाट आएकी उनीसहित बच्चामा पनि संक्रमण पुष्टि भएको हो । उनका श्रीमानको भने कोरोना रिपोर्ट नेगेटिभ आएको खानको भनाइ छ ।

‘चार दिनअघि नै उहाँहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वासथ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । अहिले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य छ’, स्वास्थ्य संयोजक खानले भने ।

ईशनाथ नगरक्षेत्रमा हालसम्म ६८ जना संक्रमित भेटिएका छन् । ६८ मध्ये एक जना उपचारपछि निको भइसकेका छन् । बाँकीको उपचार चलिरहेको जानकारी दिइएको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हालसम्म १ हजार ८११ जना संक्रमित छन् । जसमध्ये २२१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने ८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *