जेठ २५ सम्म कर तिरिसक्न ताकेता गर्दै राजस्व विभागले निकाल्याे सूचना, नतिरेमा ब्याज र जरिवाना !

काठमाडौं । लकडाउनको समयमा उद्योगी तथा व्यवसायी मारमा पर्ने भन्दै सरकारले लचकता अपनाउने भनेपनि जेठ २५ भित्र कर तिरिसक्न अर्थ मन्त्रालयले ताकेता गरेको छ । एक सूचना प्रकाशित गर्दै आन्तरिक राजस्व विभागले समयमै कर नतिरे शुल्क, थप दस्तुर, ब्याज तथा जरिवानाबाट बच्न सुझाएको छ । मन्त्रालयले यसअघि केही समय म्याद थप गरेको थियो ।

सूचनामा भनिएको छ, ‘कोभिड १९ बाट उत्पन्न असहज परिस्थितिका कारण करदाताहरुले आवधिक रुपमा बुझाउनुपर्ने कर विवरण, आय विवरण तथा ती विवरण अनुसार भुक्तानी गर्नुपर्ने कर दाखिला गर्ने म्याद नेपाल सरकारको निर्णायानुसार देहाय बमोजिम थप गरिएको सर्वविदितै छ । उक्त थप गरिएको म्यादभित्रै सम्पूर्ण विवरण बुझाइ जरिवानाबाट बच्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

प्रकाशित सूचना अनुसार २०७६ को फागुन र चैतको कर विवरण, माघ र फागुन महिनाको द्विमासिक र मंसिर–फागुनको चौमासिक कर विवरण तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद ०७७ जेठ २५ सम्मको छ । यो समयभित्र नतिरे व्यवसायीले जरिवाना तथा शुल्क तिर्नुपर्ने हुन्छ ।

त्यस्तै ०७६ को फागुन र चैत्र महिनाको बुझाउनुपर्ने विवरण तथा ती विवरण बमोजिमको अन्तः शुल्क दाखिला गर्ने म्याद पनि जेठ २५ सम्मको दिइएको छ । आर्थिक वर्ष ०७६/७७ को संशोधित अनुमानित कर विवरण र दोस्रो किस्ता बापतको रकम दाखिला गर्ने म्याद भने जेठ मसान्तसम्मको रहेको छ ।

लकडाउन भएपछि सरकारले चैत र वैशाख महिनामा अधिकांश करको भुक्तानी गर्ने समयावधि २५ जेठसम्मका लागि बढाएको थियो । १४ वैशाखको मन्त्रिपरिषद बैठकले वैशाख २५सम्मको कर तिर्ने समय एक महिना थप्ने निर्णय गरेको थियो ।पछिल्लोपटक लकडाउन लम्बाउँदै जेठ ३१ गतेसम्म विस्तार गर्ने निर्णय लिएको सरकारले जेठ २५ पछिको कर भुक्तानीको  लागि दिइएको म्याद थपेको छैन ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *