केही दिनअघि केएमसी अस्पताल पुगेकी थिइन् चाँगुनारायण-३ कि संक्रमित महिला

काठमाडौं । आज संक्रमण पुष्टि भएकी भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ३ कि ३० वर्षीया महिला केही दिनअघि काठमाडौंस्थित केएमसी अस्पताल गएको पाइएको छ ।

त्यहाँका वडाध्यक्ष श्याम सुन्दर धिमालका अनुसार जेठ १५ गते अन्तिम पटक ती संक्रमित महिला सिनामंगलस्थित केएमसी अस्पताल गएको पाइएको हो । यसअघि पनि २ पटक उनी अस्पताल पुगेकी थिइन् । उनको ट्राभल हिस्ट्री यति मात्रै भएका कारण कहाँबाट उनलाई संक्रमण भयो भन्ने कुरा खुल्न सकेको छैन ।

अहिले ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको वडाध्यक्ष धिमालले जानकारी दिए । ‘अहिले उहाँ घरमै हुनुहुन्छ । उहाँको परिवारमा अरु संक्रमित कोहीपनि छैनन् । परिवारमा विदेशबाट आएका पनि कोही छैनन्’, वडाध्यक्ष धिमालले मकालु खबरसँग भने, ‘उनी जेठ १५ गते अन्तिम पटक सिनामंगलस्थित केएमसी अस्पताल गएकी थिइन् । त्योभन्दा अघि पनि २–३ पटक गएकी थिइन् । त्यो भन्दा बाहेक उनको ट्राभल हिस्ट्री छैन ।’

उनका अनुसार संक्रमित महिलाको घर एकलासमा पर्छ । उनको घर भएको ठाउँ वरपर खासै घर छैनन् । भोलि उनको परिवार र उनीसँग सम्पर्कमा आएका व्यक्तिहरुको पीसिआर परीक्षण गरिने वडाध्यक्ष धिमालले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *