मालपोत अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा, १० करोड २७ लाख गैर कानुनी सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी

काठमाडौँ । ललितपुरका एक मालपोत अधिकृत विरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ । १० करोड २७ लाख गैर कानुनी सम्पत्ति आर्जन गरेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकृत बद्रीराज ढकालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरमा कार्यरत ढकालले सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०७६ फागुन मसान्तसम्मको पारिश्रमिक र भत्ता लगायतको बचत, कर्जा शेयर बिक्री सबै गर्दा चार करोड २६ लाख २४ हजार ३७ रुपैयाँ मात्र आय आर्जन गरेको देखिएको छ । यो अवधिमा उनको खर्च गरेको , जग्गा जमिन जोडेको, शेयर खरिद तथा बैङ्क खातालगायत सबै गरेर १४ करोड ५३ लाख ८२ हजार ४९८ रुपैयाँ सम्पत्ति मूल्याङ्कन भएको छ ।

ढकालले साली नाता पर्ने व्यक्तिका नाममा सवारी साधन खरिद गरेर प्रयोग गर्दै आएको र गैर कानुनी रूपमा आर्जन गरेको रकम लुकाउन अस्ट्रेलिया बसोबास गर्दै आएका जेठान नाता पर्ने नवराज अर्यालका नाममा जनता बैङ्कमा खाता खोलेर आफूले सञ्चालन गरेको आयोगको अनुसन्धानमा खुलेको छ ।

यो खाताबाट मात्र उनले जग्गा कारोबारसँग सम्बन्धित व्यक्तिलाई ४ करोड २६ लाख ९९ हजार २९४ रुपैयाँ भुक्तानी गरेको पाइएको अख्तियारको दाबी छ ।

आयोगको अनुसन्धानमा उनले तनहुँ मालपोत कार्यालयमा कार्यरत रहँदा आयस्रोत बढाउन न्यूनतम राजश्व तिरेर अरूको जग्गा आफ्नो नाममा ल्याउने र महँगो मूल्यमा बेचेको समेत देखाएको पाइएको छ । डेकबहादुर गुरुङ र उनकी श्रीमतीको नाममा दर्ता भएको जग्गा खरिद बिक्री कारोबार नै नगरी लिखतमा सरकारी न्यूनतम मूल्य १ लाख ९७ हजार उल्लेख गरी आफ्नो नाममा ल्याएका थिए । केही समयकै अन्तरमा उनले त्यही जग्गा डेकेन्द्र, उनकी श्रीमती, डेकेन्द्रका दिदीभिनाजु र बहिनीको नाममा एक करोड ६८ लाखमा बिक्री गरेको लिखत बनाएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकालसँगै उनकी श्रीमती सिर्जना अर्याल र जेठान नाता पर्ने नवराज अर्याल समेतलाई प्रतिवादी बनाएर विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *