प्रहरीभित्र ‘दलित सेल’ खोल्न कानुन न्याय तथा मानवअधिकार समितिको निर्देशन

काठमाडौं । प्रहरीभित्र दलित सेल खोल्न संसदीय समितिले निर्देशन दिएको छ । प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिले रुकुम पश्चिममा दलित युवकको हत्या भएको विषयमा छलफल गर्दै समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

समिति सभापति कृष्णभक्त पोखरेलले भने, ‘नेपाल प्रहरीभित्र महिला सेल छ । त्यसले महिला हिंसा कम गर्न महत्वपूर्ण भूमिका खेलेको छ । सांसदरुले त्यस्तै खालको सेल स्थापना गरेर दलितविरुद्धको अभियान सफल बनाउनुपर्ने बताएपछि समितिले सरकारलाई प्रहरीभित्र दलित सेल खोल्न भनेको हो’

यस्तै समितिले विभेदका विरुद्ध महाअभियान चलाउन पनि निर्देशन दिएको सभापति पोखरेलले बताए । उनले भने, ‘दलितमाथि एक पटक होइन पटक पटक विभेद भएका छन्, श्रृङ्खलाविरुद्ध दलितमाथिका विभेद अन्त्य गर्ने गरी सरकारका तर्फबाट महाअभियान चलाइयोस् ।’

मंगलबारको छलफलमा गृहमन्त्री रामबहादुर थापा, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलगायत सहभागी थिए ।

जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा प्रेमिकासँग विवाह गर्न साथीसहित आएका जाजरकोटको भेरी नगरपालिकाका नवराज विकसहित ५ जनाको हत्या भएको थियो । एक जनाको अझै बेपत्ता छन् । उक्त घटनामा १२ जना घाइते भएका छन् ।

यस्तै संसदीय समितिले घाइतेको निःशुल्क उपचार गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *