कर बुझाउन गरिएको सरकारी ताकेताको अवज्ञा गरौंः देउवा

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले करसम्बन्धी ताकेता फिर्ता लिएर समयावधि थप गर्न सरकारलाई सुझाव दिएका छन्। सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जेठ २५ भित्र कर तिर्न निर्धारित समयावधिको ताकेता तत्काल फिर्ता गरेर स्थिति मूल्यांकन साथ संवादमार्फत समयावधि थप गर्न सरकारसमक्ष माग गर्दछु।’

आन्तरिक राजस्व विभागले जेठ २५ भित्र कर चुक्ता गर्न करदाताहरूलाई आग्रह गरेको छ। नभए जरिवाना लाग्ने उसले बताएको थियो। देउवाले लकडाउनका कारण समस्यामा परेका साना ठूला व्यवसायीहरूलाई राहत दिनुको सट्टा लकडाउनको समयमा कर तिर्न ताकेता गरेर सरकार नागरिकको पीडाप्रति असंवेदनशील बनेको आरोप लगाए।

‘नागरिकले तिर्ने करले नै मुलुक चल्ने हो, तर करदाताले प्रतिकूल परिस्थिति भोगिरहेका बेला सहजीकरण गर्ने कर्तव्य र जिम्मेवारी सरकारको हो। सरकारले अनुदार ढंगले ताकेता गर्दा त्यसलाई भद्र अवज्ञा गर्नुभन्दा अर्को विकल्प नागरिकको रहँदैन,’ विज्ञप्तिमा उनले भनेका छन्।

कोरोनाका कारण नागरिकको जीवन र मुलुकको अर्थतन्त्रले चुनौती भोग्नुपरेका बेला अनावश्यक खर्च घटाउन मितव्ययिताका लागि गर्नुपर्ने र गर्न सकिने निर्णयका लागि सरकार गम्भीर नभएको काँग्रेसको ठहर छ। व्यवसायीहरूले भोग्नु परेको व्यावसायिक जटिलतालाई सहजीकरण गर्न आवश्यक नीति निर्माण गर्ने र राहतको विविध योजना ल्याउने दायित्व सरकारको भए पनि त्यसो नगरिएको उनको भनाई छ।

उनले भनेका छन्, ‘प्रतिपक्षको पटक पटकको आग्रहका बाबजुद राहतको न्यायोचित प्रबन्ध गर्न सरकार बिलकुल गम्भीर भएन। तर लकडाउन भएको अढाई महिना पुग्न लागेको र हाल जेठ ३२ सम्म कायमै रहेको स्थितिबीच कर तिर्न ताकेता गर्नु भनेको सरकारले बजारको स्थिति बुझेर पनि बुझपचाउनु र नागरिकको पिडाप्रति असंवेदनशील बन्नु हो।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *