अर्थमन्त्रीको विरोधमा नेकपाकै नेता, वीरगञ्जमा अर्धनग्न प्रदर्शन

काठमाडौं । वीरगञ्जमा अर्धनग्न प्रदर्शन भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको विरोधमा सत्तारुढ नेकपाकै केही नेताहरुसहितले पानीमा रुझ्दै प्रदर्शन गरेका हुन् । लकडाउनका समयमा उद्योगी तथा व्यवसायीहरुलाई कर तिर्न तोकता गरेपछि अर्थमन्त्री खतिवडाले अर्थतन्त्र डुबाउन लागेको भन्दै उनीहरू अर्धनग्न प्रदर्शनमा उत्रिएका हुन् ।

नेकपा वीरगञ्जका नगर कमिटी अध्यक्ष रहबर अन्सारीको नेतृत्वमा भएको अर्धनग्न प्रदर्शनमा सहभागीहरुले ‘डुबन्ते अर्थमन्त्री चाहिँदैन’, ‘जनता भोका छन्, चुलो निभेको छ, कर तिर्न सक्दैनौ’, ‘बैंकको ब्याज मिनहा गर’, ‘सम्पूर्ण कर मिनाह गर’, ‘गरिबलाई समुचित राहत’, ‘माफ गर्नुहोला तपाईँले सम्पर्क गर्नु भएको अर्थमन्त्रीको बुद्धि स्वीच अफ गरिएको छ’, लगायतका प्ले कार्ड बोकेर नारा लगाएका थिए ।

सामाजिक दुरी कायम गरी २५ जनाको समूहमा घण्टाघरमा प्रदर्शन आयोजना गरिएको थियाे । प्रर्दशनको समयमै वर्षा भएकाे थियाे । वर्षा भएपछि पनि करिब ४५ मिनेट प्रदर्शन जारी राखिएको थियो ।

यद्यपी लकडाउन अवधिमा कर तिर्न सूचना जारी गरेर चौतर्फी आलोचना खेप्नु परेपछि सरकार उक्त निर्णयबाट पछि हटिसकेको छ । बुधबार उद्योग वाणिज्य महासंघको टोलीसँगको छलफलपछि सरकारले कर भुक्तानी गर्ने मिति परिवर्तन गर्न सहमत भएको हो ।

आन्तरिक राजस्व विभागले मंगलबार एक सूचना जारी गरेर जेठ २५ गतेसम्म सम्पूर्ण कर भुक्तानी गर्न भनेको थियो। जेठ २५ भित्र कर तथा कर विवरण नबुझाएमा शूल्क, थप दस्तुर, ब्याज तथा जरिवाना तिर्नुपर्ने चेतावनी दिएको थियो। जसको चौतर्फी विरोध भएको थियो। व्यवसाय ठप्प रहेको अवस्थामा कर भुक्तानी गर्न नसकिने भन्दै व्यवसायीहरुले विरोध गरेका थिए ।

कर भुक्तानी गर्न विभागले जारी गरेको उक्त समय अवधि बढाएर अब असार ७ गते सम्म पुर्‍याइएको छ । नयाँ सूचना अनुसार मूअ करतर्फ फागुन, चैत र वैशाखको मासिक, माघ र फागुन तथा चैत र वैशाखको द्धैमासिक र दास्रो चौमासिक चौमासिक कर विवरण तथा त्यसअनुसारको कर दाखिला गर्ने अन्तिम म्याद असार ७ कायम गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *