क्वारेन्टाइनबाट कोभिड-१९ समुदायमा फैलिएको छैनः मुख्यमन्त्री पोखरेल

काठमाडौं। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना भाइरसको महामारी फैलिन सक्नेतर्फ सचेत रहन अपिल गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले आफूखुसी बजार खोल्दा समुदायमा सङ्क्रमण फैलिन सक्नेतर्फ सचेत गराए।

समुदायमा सङ्क्रमण फैलिने गतिविधि नगर्न उनले अनुरोध गरेका छन्। उनले भनेका छन्, ‘आफूखुसी बजार खोल्दा समुदायमा सङ्क्रमण फैलिए कसले जिम्मेवारी लिने ? गम्भीर बनौं।’ लकडाउनले जनजीवन कठिन बनाएको भन्दै व्यवसायीहरूले लकडाउन अवज्ञा गर्ने चेतावनी दिएका बेला मुख्यमन्त्री पोखरेलले गम्भीर बन्न आग्रह गरेका छन्।

झन्डै साढे दुई महिनादेखि उद्योग/व्यवसाय ठप्प हुँदा बैंकको साँवा–ब्याज तथा कर तिर्न मात्रै नभई दैनिक जीवनयापनमा समस्या भएकोले निजी क्षेत्र विकल्पविहीन बनेको व्यवसायीहरूले बताएका छन्। काठमाडौं, वीरगन्ज, मकवानपुर, चितवन, पोखरा, नेपालगन्ज, सुर्खेत, दोलखालगायतका विभिन्न सहर बजारमा व्यवसायीले पसल खोलेर लकडाउनको अवज्ञा गरे। व्यवसाय सञ्चालनका लागि सहजीकरण गरिदिन व्यवसायीहरूले अनुरोध गरेका छन्। लकडाउनको स्वरूप परिवर्तनको लागि सरकारमाथि चौतर्फी दबाब बनेको छ। यस विषयमा सरकारी विभिन्न संयन्त्रमा छलफल भइरहेको छ।

अर्को तर्फ सरकार करोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा गम्भीर नभएको विपक्षी दलहरूले आरोप लगाएका छन्। लकडाउन बाहेक सङ्क्रमण रोकथाम र उपचारमा सरकारले प्रभावकारी कदम चाल्न नसकेको उनीहरुको आरोप छ। क्वारेनटाइन र परीक्षणको राम्रो प्रबन्ध मिलाउन नसक्दा समुदायमा कोरोना सङ्क्रमण फैलिन सक्ने खतरा विपक्षी दल लगायतका सम्बन्धित क्षेत्रका विज्ञहरूले औँल्याएका छन्।

स्वास्थ्य विज्ञले कोरोनाको सङ्क्रमणको जोखिम दोस्रो चरणमा पुगिसकेको प्रष्ट्याएका छन्। तर, मुख्यमन्त्री पोखरेलले क्वारेनटाइनबाट समुदायमा कोरोना भाइरस नफैलिएको दाबी गरे। उनले भनेका छन्, ‘क्वारेनटाइन र लकडाउनका कारण कोभिड- १९ समुदायमा फैलिएको छैन।’ व्यापारीले आफू खुसी पसल खोल्न थालेका खबर आइरहेका बेला मुख्यमन्त्री पोखरेलले बिहीबार फेसबुकमा स्टाटस लेख्दै गम्भीर बन्न आग्रह गरेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *