विश्वभर ३२ लाख ४४ हजार मानिस निको भए, संक्रमित र मृतक कति ?

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका ३२ लाख ४४ हजार मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विरण अनुसार ३२ लाख ४४ हजार ४ सय २३ जना कोरोनाबाट निको भएका हुन् । अहिले उपचार गरिरहेका अधिकांश संक्रमितको अवस्था पनि सामान्य रहेको छ । बढी प्रभावित इटली र स्पेनमा नयाँ संक्रमणमा तुलनात्मक रुपमा कमी आएको छ ।

चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ३ लाख ९३ हजार १२७ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ६६ लाख ९७ हजार ७ सय ६३ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा पछिल्लो २४ घण्टामा थप ४ घण्टामा थप १ हजार २९ जनाको मृत्यु भएको छ । २४ घण्टामा त्यहाँ २१ हजार ८५३ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १९ लाख २३ हजार ६३६ पुगेको छ । कुल संक्रमितमध्ये ७ लाख ७ हजार १५० जना संक्रमणमुक्त भएका छन् ।

ब्राजिलमा कोरोना भाइरसको महामारीले ३३ हजार ८८४ को मृत्यु भएको छ । एकै दिन २८ हजार ८८२ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ६ लाख १२ हजार ८६२ पुगेको छ । ३ लाख १२ हजार ८४६ जनाको उपचार भइरहेको छ भने २ लाख ६६ हजार १३२ जना संक्रमण मुक्त भएका छन् ।

रुसमा कोरोना भाइरसबाट ४ लाख ४१ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । एकै दिन ८ हजार ८३१ जनामा संक्रमण देखिएपछि रुसमा ४ लाख ४१ हजार १०८ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १६९ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ५ हजार ३८४ पुगेको छ । २ लाख ३१ हजार १०१ जनाको उपचार भइरहेको छ भने २ लाख ४ हजार ६२३ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट ६ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २७५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ३६३ पुगेको हो । एकै दिन ९ हजार ८८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १ लाख ८ हजार ४५० जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *