मधेसी नागरिकलाई भारतीयको दर्जा नदिन सांसद गिरीको चेतावनी

काठमाडौं । समाजवादी पार्टीकी नेतृ तथा सांसद सरिता गिरीले सत्तारुढ नेकपालाई आफ्ना कार्यकर्तालाई ठीक ढङ्गले प्रशिक्षित गर्न आग्रह गरेकी छिन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्ने क्रममा सांसद गिरीले बुद्धका सन्तानहरूले रगत उमाल्ने अभिव्यक्ति दिन नहुने भन्दै यस्तो आग्रह गरेकी हुन् । मधेसी नागरिकलाई भारतीयको दर्जा नदिन उनले चेतावनी समेत दिइन् । पदको मर्यादा हुने थिएन भने आफूमाथि भौतिक आक्रमण समेत हुन सक्ने उनको भनाइ छ ।

त्यस्तै उनले सांसद गंगा चौधरीले आफूविरूद्ध विद्वेष फैलाउने हेट स्पिच दिएको आरोप लगाइन् । सांसदको रेकर्डबाटै उक्त अभिव्यक्ति हटाउन उनले माग गरिन् ।

केही दिन पहिले सांसद गिरीले नेपालले चीन र भारतसँग सल्लाह गरेर नक्सा प्रकाशित गर्नुपर्ने बताएकी थिइन् । त्यसको प्रतिउत्तरमा सांसद चौधरीले संसदमा भारतीय चेलीको दादागिरी चल्न थालेको भन्दै आक्रोश पोखेकी थिइन् ।

त्यसैमाथि प्रतिक्रिया दिँदै सांसद गिरीले भनिन्, ‘सांसदहरू प्रायोजित कुरा, मिडियामा आउने हल्लाका पछाडि लाग्नु हुँदैन । वस्तुगत तथ्यमा जानुपर्छ । कसैले चाँदीको चम्चामा सांसद पद दिएको होइन, देशको कानुन अनुसार संघर्ष गरेर नेपालको राजनीतिमा आएकी हुँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *