कोभिड-१९ बाट मृत्यु भएकाको अन्त्येष्टि धार्मिक विधिपूर्वक गर्न सकिने
काठमाडौं । कोभिड-१९ को सङ्क्रमबाट निधन भएका व्यक्तिको अन्त्येष्टि धार्मिक विधिपूर्वक गर्न सकिने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको कोभिड-१९ का कारण मृत्यु भएका बिरामीको शव व्यवस्थानसम्बन्धी कार्यविधि-२०७६ पहिलो संशोधनमा मृत शरीरसँग सिधै सम्पर्कमा नआउने किसिमले धार्मिक विधि पूजापाठ, पानी छर्किनेजस्ता क्रियाकपाल गर्न केही समस्या नहुने जनाइएको छ ।
अन्त्येष्टि कार्यमा संलग्न सबैले नियमितरुपमा हात धुने, मास्क र पञ्जाको प्रयोग गर्नुपर्ने, बिरामीको परिवारले हेर्न चाहेमा मात्र खोली मृतकको अनुहार देखाउन सकिने र एक मिटरको दूरीमा बसेर हेर्न सकिने कार्यविधिमा उल्लेख गरिएको छ ।
यस्तै कार्यविधिमा मृतकले प्रयोग गरेका लत्ताकपडा तातोपानी र साबुनमा भिजाएर धुने र घाममा सुकाएर पुनः प्रयोग गर्न सकिने उल्लेख गरिएको छ । मृतकको शरीरसँगै सिधै सम्पर्कमा आउने कार्यजस्तै मुसार्ने, अङ्गालो हाल्ने, ढोग्ने, चुम्बन गर्नेजस्ता कार्य भने गर्न नहुने, अन्त्येष्टिको कार्य सकेपछि सबै व्यक्तिले हात साबुनपानीले राम्ररी धुुनुपर्नेजस्ता कुरा अपनाउनुपर्ने कार्यविधिमा भनिएको छ ।
यस्तै बेवारिसे वा कसैबाट दाबी नभएका र कोभिड-१९ बाट मृत्यु भएको शङ्का लागेमा जतिसक्दो चाँडो जमिनमुनि गाडी सुरक्षित राख्नुपर्ने उल्लेख कार्यविधिमा गरिएको छ ।
सङ्क्रमित भई मृत्यु भएको अवस्थामा शव लिन जानुपूर्व शवबाहनका चालक तथा कर्मचारीले सर्जिकल मास्क र पञ्जाको प्रयोग गर्नुपर्ने, सकेसम्म मृतकको शरीर शवबाहनमा नै ल्याउनुपर्ने र शवबाहन नभएको स्थानमा शव बोक्न प्रयोग हुने साधन बोक्ने व्यक्तिले मृतकको शरीर नछुने गरी बनाउनुपर्ने कार्यविधमा उल्लेख गरिएको छ । अन्त्येष्टि गर्दा व्यक्तिगत सुरक्षा कवच, मास्क, स्यानेटाइजर, पञ्जाको प्रयोग गर्नुपर्ने उल्लेख छ । रासस