‘ईश्वरको नाममा शपथ नखाने मन्त्रीहरुले काेराेनाका बिरामीलाई कसम खुवाएर पठाए’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले क्वारेन्टाइनमा बसेका सम्भावित कोरोना भाइरस (कोभिड १९) संक्रमितहरुलाई कसम खुवाएर पठाइएकोमा आपत्ति जनाएका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा ५ मिनेटको समय लिएर बोलेका नेता खाँणले ईश्वरको नाममा शपथ नखाने मन्त्रीहरुले क्‍वारेन्टिनमा बसेका बिरामीहरुलाई कसम खुवाएर पठाएको भन्दै आपत्ति जनाएका हुन् । ‘घरबाट बाहिर ननिस्कनु । घरमा बालबच्चालाई नभेट्नु, वृद्धवृद्धालाई नभेट्नु, छिमेकीलाई नभेट्नु, सोसल डिस्ट्यान्समा बस्नू भनेर सपथ खुवाएर पठाइरहनु भएको छ । यसमा घोर आपत्ति छ’, उनले भने ।

त्यस्तै उनले सरकार सञ्‍चालनमा सरकार र प्रधानमन्त्री केपी ओली असफल भएको भन्दै सत्तारुढ दललाई गम्भीर बन्‍न पनि आग्रह गरे । ‘अहिले मुलुक कोरोना भाइरस संक्रमणको महामारी खेपिरहेको अवस्थामा मुलुक सञ्चालनमा जुन कठिनाइ सररकाले पनि व्यहोरेको छ र जनताहरु पनि प्रताडित भएको अवस्था छ’, नेता खाँणले भने, ‘अब बर्खामा बाढी र पहिरो आयो भने त्यो बाढी र पहिरोबाट आम नागरिकलाई कसरी रक्षाा गर्ने ? नेपालको भूभागको कसरी रक्षा गर्ने ? त्यतापट्टी सरकार गम्भीर भएको देखिएन ।’

सचेतक बालकृष्ण खाँणले लिपुलेक, कालापानी र लिम्पियाधुरामा हरेक मन्त्रालयले बजेट छुटयाउनुपर्ने पनि बताए । ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समाहित गरिएको छ । संसदको लोगोमा पनि हामीले त्यसलाई परिष्कृत गरेका छौं,’ उनले भने ।

रक्षा, ऊर्जा, गृह मन्त्रालयको बजेटमा आफूले हेरेको र त्यहाँ कहीँ पनि त्यहाँको लागि बजेट छुटयाएको नपाइएको भन्दै नेता खाँणले कागजमा मात्र फिर्ता ल्याउन खोजेको हो ? भन्दै प्रश्न समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *