जसपामा तीन अध्यक्ष, पाँच पदाधिकारीः कसलाई कुन जिम्मेवारी ?

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) मा तीन अध्यक्ष र पाँच नेताहरु पदाधिकारी रहने गरी सहमति बनेको छ। वैशाख १० मा एकीकरणको घोषणा गरेको राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीका नेताहरूले नेतृत्व विवाद टुंग्याएका हुन्।

आइतबार दुबै पार्टीका शीर्ष नेताहरूबीच बालकुमारीस्थित पार्टी कार्यालयमा भएको छलफलमा तीन अध्यक्ष बनाएर पार्टी दर्ता गर्ने सहमति जुटेको हो। पार्टी एकीकरणलाई औपचारिक रुपमा पूर्णता दिन आइतबार निर्वाचन आयोगमा दर्ता गर्न नेताहरु निर्वाचन आयोगमा पुगिसकेका छन्।

जनता समाजवादीले तीन अध्यक्ष रहने गरी दल दर्ता गर्न लागेको हो। एक जना संघीय परिषद अध्यक्ष र दुई जना केन्द्रीय परिषद अध्यक्ष रहनेछन्। संघीय परिषद अध्यक्षमा बाबुराम भट्टराई तथा केन्द्रीय परिषद अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने सहमति भएको जसपाका नेता गंगा श्रेष्ठले जानकारी दिए।

त्यस्तै पाँच जनाको पदाधिकारी बनाउने पनि सहमति भएको छ। तीन जना अध्यक्ष र चौथो बरियतामा अशोक राई र पाँचौंमा राजेन्द्र महतो पदाधिकारी रहने समति बनेको उनले जानकारी दिए। अध्यक्ष विवाद नमिल्दा एकता प्रक्रिया अघि बढ्न सकेको थिएन्।

वैशाख १० गते मध्यरातमा दुई पार्टी एक भएका थिए। वैशाख ११ गते नै जसपाले निर्वाचन आयोगमा दल दर्ताको निवेदन बुझाएका थियो। निवेदन दिएको ४५ दिनभित्र एकता प्रक्रिया टुंगोमा लगाउनु पर्ने राजनीतिक दलसम्बन्धी ऐनमा व्यवस्था छ। दलले निर्वाचन आयोगमा निवेदन दिएको शनिबार नै ४५ दिन पुगेको थियो। शनिबार परेकाले आइतबार प्रक्रिया सक्ने अन्तिम दिन मानिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *