प्रधानमन्त्रीका सल्लाहकार ठिक भएनन्ः प्रदीप गिरि

काठमाडौं। नेपाली काँग्रेसका नेता प्रदीप गिरि सरकारले श्रमिकका समस्या सम्बोधन महत्त्व नदिई कूटनीतिक नियोगका भवनलाई प्राथमिकता दिएको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा गिरिले समस्यामा परेका श्रमिकको उद्धारको लागि भन्दा बढी रकम चिन अस्ट्रेलियाको दूतावास बनाउन छुट्ट्याएको बताए।

राजदूतावासहरू सरकारी मापदण्ड अनुसार नचलिरहेको समेत उनले बताए। नेता गिरिले भारत, चीन र अमेरिकामा मात्र नेपालको दूतावास राख्न सुझाव दिए। दूतावास धेरै स्थानमा आवश्यक नरहेकोले अन्य देशमा नियोग हटाई खर्च कटाउन आग्रह गरे। उनले भनेका छन्, ‘हाम्रो देशलाई काम लाग्ने देश मन पराए पनि नपराए पनि हिन्दुस्तान हो, चीन हो अमेरिका हो। बाँकी मुलुकमा कुनै समय राजालाई हर सयरपिच्छे दरबार चाहिए जस्तै, अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीको स्वागत गर्न राजदूत राख्ने काम छैन।’

कूटनीतिक चासोको विषयलाई नेपालले आफ्ना कार्यकर्ताको भर्नाका रूपमा प्रयोग गरिरहेको उनको भनाइ छ। नेता गिरिले भनेका छन्, ‘कूटनीतिका विषयमा हामीले बुद्धि पुर्‍याइरहेका छैनौं। कूटनीतिक ढंगले गर्नुपर्ने कामको साटो विदेशको नियुक्तिलाई कार्यकर्ता पाल्ने बनाएका छौं।’

श्रीलंकाबाट फर्केका पूर्व राजदूत डा विश्वम्भर प्याकुरेलले फजुलका राजदूतावास नबनाउन सुझाएकोप्रति नेता गिरिले परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराए। उनले पूर्वराजदूत प्याकुरेलको अन्तर्वार्ता हेर्न र प्रधानमन्त्रीलाई सुनाइदिन पनि आग्रह गरे। उनले भने, ‘केवल यस्ता फजुलका राजदूतावास नबनाउनुस्, सार्थक कूटनीति चलाउनुस्। प्याकुरेलको अन्तरवार्ता प्रधानमन्त्रीलाई सुनाइदिनुहोला। उहाँ (प्रधानमन्त्री)मा दक्षता छ, सल्लाहकार ठिक भएनन्।’

नेता गिरिले राजा महेन्द्र दूरदर्शी र सफल कूटनीतिज्ञ समेत रहेको संसद्मा सुनाए। यो आफ्नो मात्र नभएर भारत, चीन र नेपालको सन्दर्भमा जानकारी राख्नेहरूले भनेको र किताबमा लेखेको उनले सुनाए। तर परराष्ट्रनीति, विदेश नीति र भारतसँगको सम्बन्धका विषयमा तत्कालीन राजा महेन्द्रले जस्तो चिठी र बोली फरक नगर्न सरकारलाई उनले सुझाव दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *