‘शिक्षकहरू सुतिरहेका छैनन्, आवश्यक पर्दा जस्तो अवस्थामा पनि तयार हुन्छन्’
काठमाडौँ । गत चैतदेखि नेपालमा कोरोना सङ्क्रमण देखिएपश्चात् नै सुरु भएको लकडाउनको कारण विद्यालय गएर अध्ययन गर्ने ८० लाखभन्दा बढी विद्यार्थीहरू शिक्षाविहीन अवस्थामा छन् । सहरी क्षेत्र तथा पहुँच भएका केही निजी विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गरिरहेको भए पनि अधिकांश सामुदायिक विद्यालयको पठनपाठन ठप्प छ ।
यही अवस्थालाई मध्यनजर गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असार १ गतेदेखि लागू हुने गरी “वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७’ जारी गरेको छ ।
सिकाइ सहजीकरण निर्देशिका आएपछि सङ्घीय सरकार, स्थानीय निकाय र विद्यालयहरू केही सक्रिय हुन थालेका छन् । शनिवार डिजिटल संवाद कार्यक्रममा कुरा गर्दै सरोकारवालाहरूले यो अवस्थामा सिकाइलाई प्रभावकारी बनाउन स्थानीय निकायको भूमिका महत्त्वपूर्ण हुने बताए ।
शिक्षा विभागका महानिर्देशक डा.तुलसीप्रसाद थपलियाले विभिन्न निकाय, विज्ञहरूको छलफलबाट निर्देशिका आएको भन्दै अब यसलाई लागू गर्न स्थानीय निकाय र विद्यालयहरूको भूमिकामा जोड दिए । विद्यार्थीको सिकाइमा आउने क्षति, डिजिटल बढ्ने सम्भावनाहरूलाई हेर्दै अहिले अवस्था हेरेर विभिन्न ५ प्रकारका माध्यमबाट सिकाइ निरन्तर सुचारु गर्ने प्रयास सरकारले गरेको थपलियाले बताए ।
कोभिड–१९ वा यस्तै प्रकारको विपद् वा महामारी जस्ता कारणले नियमित पठनपाठन गर्न कठिन भएको वा हुन सक्ने अवस्थामा रेडियो, एफएम रेडियो, टेलिभिजन, अनलाइन, अफलाइन, परियोजना पाठहरू, स्वअध्ययन, दूर तथा खुला शिक्षालगायतका वैकल्पिक माध्यम वा पद्धतिबाट अध्ययन, अध्यापन सुचारु राख्ने विधि र प्रक्रियाबाट वैकल्पिक सिकाइ अवलम्बन गर्न सकिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको निर्देशिकामा उल्लेख छ ।
डिजिटल संवाद कार्यक्रममा बोल्दै सिकाइ समूहका प्रबन्ध सम्पादक सुदर्शन घिमिरेले विद्यार्थीलाई रुचि अनुसार सिकाइ अघि बढाउनुपर्नेमा जोड दिए । अहिलेको अवस्थामा शिक्षकमार्फत अभिभावकलाई बढी सक्रिय गराएर सिकाइ प्रक्रिया अघि बढाउनुपर्ने बताउँदै घिमिरेले अब नलेज डिपोजिट नभई नलेज कन्स्ट्रक्सन गर्नुपर्ने सुझाव दिए ।
विद्यालय स्तरको शिक्षामा वैकल्पिक सिकाइ र प्रविधि विषयको कार्यक्रममा हरेक प्रदेशबाट प्रधानाध्यापक, शिक्षक, स्थानीय निकायका प्रतिनिधिहरू सहभागी थिए । कार्यक्रममा स्रोत व्यक्तिको रूपमा बोल्दै राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष लक्ष्मण शर्माले अहिलेको अवस्थामा शिक्षकहरू विद्यार्थीहरूको सिकाइमा निरन्तरता दिन तयार रहेको बताए । उनले भने, ‘शिक्षकहरू सुतिरहेका छैनन्, आवश्यक पर्दा जस्तो अवस्थामा पनि तयार हुन्छन् । तर हामीसँग सिकाई गर्न उपयुक्त डिजिटल कन्टेन्ट र कनेक्टिभिटी खै ?’
शर्माले सरकारले सरकारी विद्यालयमा क्वारेन्टाइन बनाउने तर निजी विद्यालय चाहिँ खुला गर्न दिए दुर्घटना निम्तने भन्दै प्रविधि र डिजिटल कन्टेन्टको विस्तारमा सहकार्य गर्न सरोकारवालाई आग्रह गरे ।
एक सय पचास जना बढीको सहभागिता रहेको अनलाइन छलफलमा स्थानीय निकायको प्रतिनिधित्व गर्दै बेलवारी नगरपालिका मोरङका शिक्षा शाखा प्रमुख भूपेन्द्रप्रसाद कोइरालाले वैकल्पिक माध्यमबाट सिकाइ अघि बढाउन लागिपरेको बताए । अहिलेको परिस्थितिमा स्थानीय निकायको भूमिका महत्त्वपूर्ण रहेको भन्दै उनले प्रविधिको पहुँच भएकाहरूलाई डिजिटल कन्टेन्ट उपलब्ध गराउने र पहुँच बाहिर रहेकाहरूलाई पुस्तक, रेडियो र अभिभावक मार्फत पनि विद्यार्थीको सिकाइको अधिकार सुनिश्चित गर्ने बताए ।
कार्यक्रममा जगेडी गाउँपालिका रुपन्देहीका प्राचार्य रेश्मा भुसाल वाग्लेले अहिलेको अवस्थामा शिक्षा निरन्तरता दिन सङ्घ, स्थानीय निकाय र विद्यालयको सहकार्य हुनुपर्ने बताइन् । शिक्षकलाई मनोबल बढाउँदै तालिमहरू प्रदान गरी सिकाइ देशैभरि अनिवार्य गर्न सकेमा मात्र प्रभावकारी हुने वाग्लेको धारणा थियो । यसै गरी ओएलई नेपालका प्रबन्ध निर्देशक रवि कर्माचार्यले प्रविधि एक माध्यम मात्र भएको र सिकाइसँग अनुभव जोड्नुपर्ने बताए । अहिले टेलिकम सेवा प्रदायकले सिकाइको लागि निःशुल्क र न्यून शुल्कमा डेटा तथा इन्टरनेट प्याकेजहरू दिनुपर्ने कर्माचार्यको भनाइ थियो ।
शनिवार १ बजे जुममार्फत सञ्चालित कार्यक्रमको अध्यक्षता गर्दै पूर्व मन्त्री गणेश शाहले अब शिक्षामा रूपान्तरण आवश्यक रहेको भन्दै यसलाई व्यावहारिक बनाउँदै जानुपर्ने बताए । सरकारले लगानी बढाउँदै विद्यार्थीलाई कम शुल्कमा प्रविधि मैत्री गुणस्तरीय शिक्षा दिनुपर्नेमा शाहको जोड थियो । प्रविधि पत्रकार मञ्चका पूर्व अध्यक्ष सरु ढकालले अहिलेको परिस्थितिले हामीलाई हरेक क्षेत्रमा प्रविधिसँग जोडिनुपर्ने आवश्यकता महसुस गराएको भन्दै अबको समयमा डिजिटल शिक्षा प्रणालीको विकास गर्नुपर्नेमा जोड दिइन् ।
निर्देशिका अनुसार सिकाइका विभिन्न ५ प्रकारहरू
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७ मा अवस्था हेरी विभिन्न ५ प्रकारबाट सिकाइ प्रक्रियालाई अघि बढाउन भनिएको छ । यी ५ प्रकारका सिकाइ माध्यमहरू यस प्रकार छन् :
१. सबै किसिमको प्रविधिको पहुँचभन्दा बाहिर रहेका विद्यार्थी रहेको समूहका लागि विद्यार्थीहरूलाई चालू शैक्षिक सत्रमा अध्ययन गर्ने कक्षा यकिन गरी सोको अभिलेख राखी पाठ्यपुस्तक उपलब्ध गराउने ।
२. रेडियो, एफएममा पहुँच भएका विद्यार्थी रहेको समूहका लागि पुस्तकसँगै केन्द्रले तयार पारेका सामग्रीहरू केन्द्रीय रेडियोबाट प्रसारण गर्ने र यी सामग्रीहरू एफएम रेडियो र स्थानीय एफएम रेडियोहरूलाई निःशुल्क उपलब्ध गराउने र विद्यार्थीले यही माध्यमबाट सिक्ने ।
३. टेलिभिजनमा पहुँच भएका विद्यार्थी रहेको समूहका लागि पुस्तकसँगै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विकास तथा संयोजन गरेका कक्षागत सिकाइ सामग्रीहरू विभिन्न केन्द्रीय तथा स्थानीय टेलिभिजनबाट प्रसारण गर्ने र सोही समय अनुसार विद्यार्थीले सिकाइ गर्ने ।
४. कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका विद्यार्थी रहेको समूहका लागि पुस्तकसँगै डिजिटल प्रणालीमा तयार गरिएको सामग्रीहरू अफलाइन मोडमा (सीडी वा पेन ड्राइभ, हार्डडिस्क आदि) विद्यालय र स्थानीय तहमार्फत विद्यार्थीलाई उपलब्ध गराउने र विद्यार्थीहरूले सिक्ने ।
५. इन्टरनेट तथा सूचना सञ्चार प्रविधिका साधनमा पहुँच भएका विद्यार्थी रहेको समूहका लागि पुस्तकसँगै केन्द्रीय र प्रदेशगत रूपमा डिजिटल कन्टेन्ट तथा सामग्रीहरूको तयारी गर्ने र अनलाइन माध्यममा उपलब्ध गराउने र सोही अनुसार विद्यार्थीहरूले अन्तरक्रियात्मक रूपमा सिक्न सक्ने ।