कोरोना महामारी विश्व अर्थतन्त्रका निम्ति घातक धक्काः अर्बौँ मानिस थलिने

काठमाडौं । विश्व ब्याङ्कका प्रमुखले कोरोनाभाइरस महामारीलाई विश्व अर्थतन्त्रका निम्ति घातक धक्का भन्दै त्यसले अर्बौँ मानिसको जनजीविका प्रभावित भएको बताएका छन् । बीबीसीसँगको अन्तर्वार्तामा डेभिड मालपासले सरकारहरूलाई वृद्धि पुनर्स्थापित गराउन नयाँ प्रणालीहरू निर्माण गर्न आह्वान गरे ।

लामो र कठोर असर
भाइरसको आर्थिक असर एक दशकसम्म रहिरहनसक्ने उनले बताए । यसअघि मे महिनामा उनले कोरोनाभाइरसका कारण ६ करोड मानिस अति गरिबीमा घचेटिने बताएका थिए ।

विश्व ब्याङ्कका अनुसार अति गरिबीको वर्गमा दैनिक दुई अमेरिकी डलरभन्दा कममा निर्वाह गर्न वाध्य मानिस पर्छन् । “महामारीको असर अनि त्यसपछि लकडाउनहरूका कारण अर्बौँ मानिसको जनजीविका बिथोलिएको छ । त्यो चिन्ताजनक छ ।

‘गुमेको आम्दानी जस्तो प्रत्यक्ष प्रभाव अनि स्वास्थ्य तथा सामाजिक रूपमा परेका अन्य प्रभाव निकै कठोर छन्,’ उनले भने । मालपासले प्रभाव बहन गर्न नसक्ने वर्गमै सबभन्दा धेरै असर पर्ने बताए ।

समृद्धि पुनर्स्थापना कसरी?
सही योजना कार्यान्वयन गरिए जीवन तथा जीविका पुनर्स्थापित गर्न सकिनेमा आफू विश्वस्त रहेको उनले बताए । त्यस्ता योजनामा गरिब देशहरूलाई ऋणमा राहत तथा अति जोखिममा रहेका मानिसहरूलाई सरकारहरूको सहयोग रहेको उनले बताए ।

विश्व ब्याङ्कले सबभन्दा धेरै प्रभावित देशहरूलाई सहयोग गरिरहेको तर अझ धेरै गर्न जरुरी रहेको बताएको छ । उसले ब्याङ्क तथा पेन्सन कोषजस्ता व्यापारिक कर्जादाताहरूलाई पनि गरिब देशलाई कर्जामा राहत दिन आग्रह गरेको छ । ऋणका शर्तहरू स्पष्ट बनाइदिए अन्य लगानीकर्तालाई त्यस्ता अर्थतन्त्रमा स्रोत लगाउन सहज हुने पनि मालपासले बताएका छन् ।

अर्थतन्त्रहरूलाई पुनर्निर्माण गर्न निजी क्षेत्र उकास्ने गरि सरकारी सहयोग हुनु पर्ने विश्व ब्याङ्कले बताएको छ । समृद्धि पुनर्स्थापित गर्नका निम्ति पर्यटनजस्ता स्थायी रूपमै रोजगारी गुमेका हुनसक्ने क्षेत्रहरूको साटोमा रोजगारीका नयाँ अवसर सृजना हुने गरि नयाँ वातावरण बनाउनु पर्ने उनले बताए । अन्तत: यो महासङ्कटबाट मानिसले पार पाउनेपनि मालपासले बताए ।

‘म आशावादी हुँ । दीर्घकालमा भन्नुपर्दा मानवको प्रकृति दह्रो छ र नवप्रवर्तन पनि हुने छ । संसार निकै तीव्रगतिमा बदलिँदो छ । र, अहिलेजस्तो सम्पर्कसञ्जाल कहिल्यै थिए न। यसले भविष्यप्रति आशा जगाउँछ ।’ बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *