न्यूजिल्याण्डमा कोरोना संक्रमण शून्य, मध्यरातदेखि प्रतिबन्धहरू फुकुवा

काठमाडौं। न्यूजिल्याण्डमा कोरोना भाइरस संक्रमणको दर शून्यमा झरेको छ। संक्रमितको संख्या शून्यमा झरेसँगै देशभित्र लगाइएका प्रतिबन्धहरू फुकुवा गर्न लागिएको छ। न्यूजिल्यान्डमा सोमबार मध्यरातदेखि कोरोना भाइरससम्बन्धीका सतर्कता तहहरू सबैभन्दा तल्लो तहमा पुर्‍याउने उद्घघोष प्रधानमन्त्री जसिन्डा आर्डर्नले गरेकी छन्।

तर सीमा नाका भने अझ पनि बन्द रहने बीबीसीले उल्लेख गरेको छ। न्यूजिल्याण्डमा कोरोना भाइरस संक्रमण शून्यमा पुगेपछि सार्वजनिक र निजी कार्यक्रम गर्न फुकुवा गरिएको छ। खुद्रा पसलहरू, होटल तथा रेस्टुरेन्ट, सार्वजनिक यातायात र घरेलु उडान संचालन गर्न पनि अनुमति दिइएको छ।

प्रधानमनन्त्री आर्डर्नले अभूतपूर्व एकताबाट कोरोना भाइरसलाई जित्न सफल भएको उल्लेख गर्दै भाइरस निर्मूल पार्न निरन्तरको प्रयास आवश्यक पर्ने चेतावनीसमेत दिइन्। उनले देशमा भाइरसका नयाँ संक्रमित देखापर्ने समेत उल्लेख गरिन्।

शुरूमा न्यूजील्यान्ड असाध्यै छिटो र बृहत् लकडाउनमा गयो। उसका सीमा नाकाहरू १९ मार्चमा बन्द गरिए। त्यतिबेला न्यूजील्यान्डमा ३० वटा मात्र भाइरस सङ्क्रमण पुष्टि भएको थियो। सात दिनपछि उच्च तहको सतर्कतामा मुलुकलाई लगियो। न्यूजील्यान्डमा कडा लकडाउन लगाइयो।

पाँच हप्ताको कडा लकडाउनपछि केही घर लगेर खान मिल्ने ‘टेकअवे’ पसलहरू र केही कम अत्यावश्यकीय व्यवसायहरू पनि खोल्न अनुमति दिइएको थियो। अन्त्यमा एप्रिलको अन्त्यतिर नयाँ सङ्क्रमण झण्डै शून्यमा झर्‍यो। त्यसपछि त्यहाँ झन् धेरै प्रतिबन्धहरू खुकुलो बनाइयो। अहिले भाइरस समाप्त भएजस्तो देखिएको बीबीसीले उल्लेख गरेको छ।

तर प्रधानमन्त्री जसिन्डा आर्डनले लामो समयसम्म सीमा नखोल्ने बताएकी छन्। न्यूजील्यान्डमा जम्मा एक हजार ५०४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो र २२ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *