कोभिड-१९ ले सामाजिक क्षेत्रका कार्यक्रम कमजोर रहेको देखायोः मन्त्री गुरुङ

काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले आफ्नो मन्त्रालयका नीति तथा कार्यक्रम अनुसार कम बजेट विनियोजन भएको बताएका छन्। सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रतिनिधिसभा बैठकमा मन्त्री गुरुङले बजेटले नीति तथा कार्यक्रमहरू निर्धारण गर्ने परम्परा तोड्नु आवश्यक रहेको बताए।

उनले नीति तथा कार्यक्रमहरूले बजेट निर्धारण गर्नुपर्ने परम्पराको सुरुवात गर्नुपर्नेमा जोड दिए। उनले भनेका छन्, ‘यस मन्त्रालयसँग सम्बन्धित विषय साझा विषय हुन्। यसको क्षेत्र वृहत् र व्यापक छ। धेरै जनसंख्यालाई समेटेको छ। यस्तो मन्त्रालयमा बजेट कम भएको कुरामा म सहमत छु। तर बजेटले कार्यक्रम निर्धारण गर्ने परम्परा तोड्नु पर्छ। नीति तथा कार्यक्रमले बजेट निर्धारण गर्ने परम्पराको सुरुवात गर्ने प्रयत्न गर्नुपर्छ।’

मन्त्री गुरुङले आफ्नो मन्त्रालयले नेपाल सरकारको नीति तथा कार्यक्रम, १५ योजना, दिगो विकास र अन्तर्राष्ट्रिय प्रतिबद्धतामा आधारित रहेर बजेट विनियोजन र केही नीति तथा कार्यक्रम प्रस्तुत गरेको बताए। उनले सामाजिक क्षेत्रका कार्यक्रमहरूलाई राष्ट्रिय गौरवको कार्यक्रममा रूपान्तरित गर्नु पर्ने आवश्यकता औँल्याए। कोभिड-१९ ले पनि सामाजिक क्षेत्रका कार्यक्रम र गतिविधि बलियो बनाउनु पर्ने सन्देश दिएको उनको भनाइ छ।

कोभिड-१९ बाट शिक्षा लिएर सामाजिक क्षेत्रमा विशेष ध्यान दिनुपर्ने उनले बताए। सामाजिक क्षेत्रका नीति र गतिविधि कमजोर भएका कारण पनि कोभिड-१९ को महामारी थप जटिल बनेको उनको भनाई रहेको छ। उनले अहिलेको विकसित समाजमा छाउपडी प्रथा, बालविवाह, छुवाछुत, जातीय विभेदका विद्यमान रहनु दुःखद विषय भएको मन्त्री गुरुङले बताए।

उनले समाजमा विद्यमान हानिकारक कुसंस्कार र अभ्यासहरूको अन्त्यका लागि मन्त्रालयले आवश्यक नीति तथा कार्यक्रममा जोड दिएको बताए। तर बजेटले सबैको भावना सम्बोधन गर्न नसक्ने उनले बताए। तर ‘समृद्धि नेपाल सुखी नेपाल’ जस्तो राष्ट्रिय दृष्टिकोण अघि सारे पनि समाजमा विद्यमान रहेका कुरीति, कुसंस्कार र अन्धविश्वासको अन्त्य नहुँदासम्म समृद्धिको समपना पुरा नहुने उनको भनाइ छ।

यही अनुरूप बजेट विनियोजन भएको पनि उनले जानकारी दिए। सबैको भावनालाई बजेटबाट सम्बोधन गर्न नसके पनि नीति तथा कार्यक्रमबाट सामाजिक रूपान्तरणको सोच र कार्यविधिले सबैको भावना सम्बोधन गर्ने उनले बताए। मन्त्री गुरुङले राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट ‘लैंगिक हिंसा र विभेदको अन्त्य, आर्थिक रूपान्तरण अबको गन्तव्य’ भन्ने मूल नाराका साथ महिला सशक्तीकरणको अभियानलाई अगाडि बढाइने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *