कोभिड-१९ का कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ढिलाई हुनेभयोः मन्त्री भट्टराई

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोभिड-१९ का कारण भैरहवास्थिति गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य लम्बिएको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा भट्टराईले अब उक्त विमानस्थल कोभिड-१९को स्थिति सामान्य भएको ६ महिनाभित्र सञ्चालनमा आउने बताए।

‘सम्भवतः कोभिड-१९ को असर नभएको भए थुप्रै माननीय ज्यूहरू आज भैरहवास्थिति गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा कतार उड्न सौभाग्य पाउनु हुन्थ्यो। दुर्भाग्यवश कोभिड-१९ को कारणले हुन भएन,’ उनले भनेका छन्, ‘अब कोभिड-१९ को स्थिति सामान्य भएको ६ महिना भित्र हामी  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वका जुन सुकै ठाउँ पनि जानसक्ने छौँ। त्यो अन्तिम तयारीमा हामी आइसकेका छौँ।’

उनले पोखरा विमान स्थलको काम अगाडि बढिरहेको बताए। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुदृढीकरणको काम पनि अगाडि बढिरहेको उनले जानकारी दिए। निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि अगाडि बढाउने तयारी भएको मन्त्री भट्टराईले बताए। उनले ताप्लेजुङ देखि दार्चुलाको गोकुलेसम्म र झापाको चन्द्रगढी देखि कञ्चनपुरको महेन्द्रनगरसम्मका ५४ ओटा विमानस्थलहरू मध्ये अहिले ३४ वटा विमानस्थल कालोपत्रे भएको उनले बताए। अरू विमानस्थलहरूको पनि बिस्तारै कालोपत्रे गर्दै लैजाने उनको भनाइ छ।

उनले उक्त विमानस्थलहरूको सुधार, विस्तार, आधुनिकीकरण र वैज्ञानिकीकरण गरिने समेत जानकारी दिए। तराईमा रहेका विमानस्थलहरूबाट रात्रिकालीन उडानको सुविधा बनाइएको उनले बताए। आउने वर्ष राजविराज विमानस्थलबाट पनि रात्रिकालीन उडान सेवा गरिने जानकारी दिए।

मन्त्री भट्टराईले धेरै ठाउँबाट विमानस्थल कुरा उठेको तर भएका विमानस्थलहरू व्यावसायिक रूपमा सञ्चालनमा आउन नसकेको तर्फ सचेत गराए। उनले त्यस्ता विमानस्थल सञ्चालनका लागि वैकल्पिक कामहरू गर्नुपर्ने बताए। उनले भनेका छन्, ‘धेरै ठाउँमा विभिन्न स्थलको कुरा आएको छ। मलाइ पनि मन्त्री नहुँदा विमानस्थल भए हुन्थ्यो जस्तो लाग्थ्यो। मन्त्रालयमा आएपछि कसरी विमानस्थल बनाउने, कहाँ बनाउने अध्ययन गर्दा मूलतः तीन मापदण्ड आवश्यक हुन्छ जस्तो लाग्छ। त्यसको आधारमा नयाँ विमान स्थल बनाउने/नबनाउने र भएका विमान स्थल चलेका छैनन्। त्यसलाई कसरी व्यावसायिक ढङ्गले चलाउने भन्ने विषयमा अन्य वैकल्पिक कामहरू गर्नुपर्ने देखिन्छ।’

मन्त्री भट्टराईले विमानस्थल सम्बन्धी तीन वटा तीन मापदण्डबारे पनि संसद्लाई जानकारी गराए। पहिलो मापदण्ड, राज्यले सुविधा दिनुपर्ने अत्यन्त विकट, दुर्गम स्थानहरूमा नाफा नोक्सान नहेरी त्यस्ता ठाउँमा सुविधा दिनुपर्ने बताए। दोस्रो, प्रचुर पर्यटकीय सम्भावना भएका ठाउँहरूमा विमान स्थल बनाउनु पर्नेमा जोड दिए। तेस्रो, व्यावसायिक प्रतिफल प्राप्त हुने ठाउँमा विमान स्थल बनाउनुपर्ने उनले बताए। ‘यी तीन मापदण्डमा विमान स्थल बनायौं भने कुनै राजनीतिक दबाब र कुनै नेताको प्रभावको कुरा हामीले जोडी रहनुपर्ने छैन। यो मापदण्ड स्थापित गर्दै गयौं भने एउटा निश्चित विकासको मोडेल तिर अगाडि बढ्ने छौँ,’ उनले भने।

मन्त्री भट्टराईले हालसम्म भूकम्पबाट क्षति भएका करिब चार सय सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण भएको जानकारी दिए। आगामी वर्ष अरू दुई सय सम्पदाको पुन निर्माण सम्पन्न गर्ने लक्ष रहेको उनले बताए। आगामी दुई वर्षभित्र भूकम्पबाट क्षति भएका सम्पदाहरूको पुनर्निर्माण कम सम्पन्न गरी सक्ने उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *