पर्यटकीय स्थल सौराहामा रोटरीले बनायो घण्टाघर

चितवन । चितवनको पर्यटकीय स्थल सौराहामा घण्टाघर निर्माण गरिएको छ । सौराहा प्रवेशद्वार सिसुवारमा रोटरी क्लब अफ रत्न नगरले घण्टाघर निर्माण गरेको हो ।

जिल्ला समन्वय समिति, रत्ननगर नगरपालिका र केही दाताहरूको सहयोग तथा रोटरीमा आवद्धहरुले सङ्कलन गरेको रकमबाट घण्टाघर निर्माण गरिएको रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष विपिन पोखरेलले जानकारी दिए । घण्टाघरको केही काम भने हुन बाँकी छ । हालसम्म ३५ लाख भन्दा बढी रकम खर्च भइसकेको अध्यक्ष पोखरेलले बताए ।

निर्माण गरिएको रोटरी घण्टाघर सोमबार एक कार्यक्रमका बिच स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ ।

जिल्ला समन्वय समितिका चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको उपस्थितिमा एक औपचारिक कार्यक्रमका बिच रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष विपिन पोखरेलले रत्ननगरका मेयर नारायण वनलाई रोटरी घण्टाघर हस्तान्तरण गरेका थिए । त्यस पश्चात् मेयर वनले सो वडाका वडाध्यक्ष राजन भट्टलाई स्थानीय व्यवस्थापन गर्ने गरी घण्टाघर हस्तान्तरण गरेका थिए । घण्टाघरको सुन्दरता र घण्टाघर वरिपरि हरियाली पार्क निर्माण गरिने क्लबका निवर्तमान अध्यक्ष जनकराज पौडेलले बताए ।

कार्यक्रममा सहभागीहरूले घण्टाघर निर्माणले सौराहालाई थप आकर्षण थपेको बताए । कार्यक्रमका विशिष्ट अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले विकास निर्माणको काममा रोटरीसँग साझेदारी गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । डल्लाकोटीले कोरोना नियन्त्रणको काममा पनि अझ बढी सक्रियता देखाउने गरी काम गर्न रोटरीयनहरुलाई आग्रह गरे । रत्ननगरका मेयर नारायण वनले रोटरी क्लबले निरन्तर रूपमा सामाजिक रूपान्तरणको काम गरेकोमा प्रशंसा गरे ।

कार्यक्रमका प्रमुख अतिथि रोटरी क्लबका डिष्ट्रिक गभर्नर किरणलाल श्रेष्ठले अनलाइन मार्फत मन्तव्य राखेका थिए । क्लबका अध्यक्ष विपिन पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लब अफ रत्ननगरका संस्थापक अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, रत्ननगर ७ का वडाध्यक्ष राजन भट्टराई, क्लबका सचिव सुरेन्द्रनाथ रेग्मीले लगायतले मन्तव्य राखेका थिए । रोटरी क्लबले यसअघि टिकौलीमा सार्वजनिक शौचालय, सिसुवारका १२ घरधुरी मुसहरलाई पक्की घर निर्माण, रत्ननगर उद्योग वाणिज्य सङ्घमा पुस्तकालय निर्माण गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *