धरानका सञ्चारकर्मीलाई कोरोना फेलोसिप, फोटो पत्रकार महासंघ सुनसरीको असन्तुष्टि

धरान । कोरोना भाइरस संक्रमणमा चिकित्सक तथा सुरक्षाकर्मीहरु जस्तै फ्रन्ट लाइनमा रहेर समाचार सम्प्रेषण गर्ने सञ्चारकर्मीहरुको लागि नेपाल पत्रकार महासंघ सुनसरीले धरान उपमहानगरपालिका सँगको समन्वयमा प्रदान गर्ने फेलोसिप पाउने पत्रकारहरुको टुंगो लगाएको छ ।

महासंघको कार्यालयमा आज बसेको छलफलले धरानका २१ जना सञ्चारकर्मीहरुलाई कोभिड–१९का कारण पर्न गएको असरका बारेमा फेलोसिप प्रदान गर्ने निर्णय गरेको महासंघ सुनसरी अध्यक्ष अमर खड्काले बताए ।

सुनसरीका करिब ५० भन्दा बढी सञ्चारकर्मीहरुलाई दिईने भनिएको फेलोसिपका निम्ति जेठ २५ गते २१ जनाको अन्तिम नामावली प्रकाशन गरेको थियो । सोहि नामावली अनुसार आज उनीहरुलाई फेलोसिप दिइएको हो ।

महासंघले धरानका लागि जेठ २१ गते सार्वजनिक सुचना जारी गरी करिब ३ लाख बराबरको फेलोसिप दिने घोषणा गरेको थियो । फेलोसिप पाउनेहरुले धरानमा केन्द्रीत रहेर विभिन्न विषयहरुमा रिपोर्टिङ गर्नु पर्नेछ । धरानको लागि शिक्षा, स्वास्थ्य, पर्यटन, धार्मिक पर्यटन, खेलकुद, विकास निर्माण, राजस्व, वातावरण, ब्यापार ब्यवसाय, कृषि क्षेत्र लगायतका बिषयहरु समेटिएका छन् ।

सञ्चारकर्मीहरुलाई फेलोसिप दिने विषयमा समिति गठन गरेर नामावली संकलन गरिएको थियो । फेलोसिप पाउनेहरुमा धरानमा रहेर पत्रकारिता गर्ने नयाँ तथा पुराना सञ्चारकर्मीहरु रहेका छन् ।

फोटो पत्रकार महासंघ सुनसरीको आपत्ति

यसैबीच महासंघ सुनसरीले फेलोसिप पाउने सञ्चारकर्मीको नाम छनौट गर्न समिति नै बनाएर नामावली तयार पारेकोमा फोटो पत्रकार महासंघ सुनसरीले आपत्ति जनाउँदै ध्यानाकर्षण पत्र बुझाइएको छ।

महासंघले जेठ २५ गते सञ्चारकर्मीहरुको अन्तिम नामावली सार्वजनिक गरेर आज छलफल गरीरहँदा बिचमा फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष बिकास चाम्लिङ तथा सचिव शिशिर राईको संयुक्त हस्ताक्षरमा समस्यामा परेका पत्रकारहरुलाई फेलोसिप नदिइएको भन्दै महासंघलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।

फोटो पत्रकार महासंघ सुनसरीले ध्यानाकर्षण पत्रमा महासंघ सुनसरीले राम्रोसँग समन्वय नगरी आफु खुसी फेलोसिप वितरण गरिएको आरोप लगाएको छ । फोटो पत्रकार महासंघले सबै सञ्चारकर्मीहरुलाई फेलोसिप उपलब्ध नगराए आन्दोलन गर्ने चेतावनी दिँदै ध्यानाकर्षण पत्र बुझाएपछि महासंघले आफैंले गरेको यसअघिको निर्णय उल्ट्याउँदै पुनः दुई जनाको नाम थप गरेको छ । फोटो पत्रकार महासंघ सुनसरीको दवावमा पत्रकार महासंघले कृष्टिना चौधरी र सञ्जय याख्खालाई फेलोसिप प्रदान गर्ने भएको छ ।

पत्रकार महासंघले क्षमता दक्षता र आवश्यक्ताका आधारमा फेलोसिप प्रदान गर्ने निर्णय गर्दै गर्दा फोटो पत्रकार महासंघको दवावमा तत्कालै दुई जनाको नाम थपेपछि फेलोसिपका लागि आवेदन दिएका तर, पाउन नसकेकाहरुमा असन्तुष्टी बढेको छ । भने, फोटो पत्रकार महासंघमा आबद्ध फोटो पत्रकार लक्ष्मण थापा तथा सागर सिंजालीले महासंघको निर्णयप्रति ध्यानाकर्षण गराउने विषयमा आफुहरुलाई थाहै नभएको बताएका छन् ।

लेखनवृत्तिका लागि अग्रज पत्रकार हर्ष सुब्बा, राजेश विद्रोही, जनकऋषि राई, भवानी बराल र केशब घिमिरेले छलफलमा संयोजन गर्ने भुमिका निभाएका थिए । अर्का सदस्य पत्रकार किशोर कार्की भने अनुपस्थित रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *