बेलायतबाट फर्किन चाहने ३९१ जनाको विवरण नेपाल पठाइयो

लण्डन । बेलायतबाट नेपाल फर्कन जरुरी रहेका ३ सय ९१ जनाको विवरण सोमबार नेपाल पठाइएको लण्डनस्थित नेपाली दूतावासले बताएको छ ।

बन्दाबन्दीका कारण नेपाल फर्कन नपाएकाहरूको विवरण सङ्कलन गरी दूतावासले काठमाडौं पठाएको दूतावासका प्रवक्ता शरदराज आरणले बताए । दूतावासको पहलमा गठन गरिएको सूचना संकलन समितिमार्फत् दिइएको उक्त जानकारीमा भिसाको म्याद समाप्त भएर लामो समयदेखि रोकिइरहेका र यसै महिना भिसा सकिनेको संख्या १ सय ५४ जना रहेको छ ।

त्यस्तै, रोजगार गुमाई घर फर्कन खोजेका ९४, अध्ययनका लागि आएका र अध्ययन पूरा गरेका विद्यार्थी ५०, नेपाल सरकारले तालिमका लागि पठाएका नेपाली सेनाका अधिकृत तथा अन्य कर्मचारीबाट ५ जना, परीक्षा र तालिमका लागि आएका चिकित्सक तथा अन्य कर्मचारीबाट २१ र पारिवारिक वा अन्य कारणले नेपाल फर्कनुपर्ने ६५ गरी कूल ३९१ जना रहेका छन् ।

गत हप्ता दूतावासले नेपाल फर्कनुपर्ने अवस्थामा रहेका नेपालीको विवरण पठाउन सूचना जारी गरेको थियो । सोमबार पठाइएको विवरण नेपाल सरकारले हेरेर सोहीअनुसार निर्णय गरेपछि मात्रै यहाँ विवरण बुझाएकालाई कहिले र कसरी जानेबारे थप जानकारी दिइने दूतावासले बताएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *