उपत्यकामा एकैदिन लकडाउन उल्लङ्घन गर्ने ४ हजार सवारी कारबाहीमा

काठमाडौं । कोभिड-१९ सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको बन्दाबन्दी उल्लङ्घन गर्नेविरुद्ध महानगरीय ट्राफिक प्रहरीले थप कडाइ गर्न थालेको छ । बिना काम, बिना पास र अत्यावश्यक कामबाहेक सवारी साधन चलाउने उपर जाँचलाई तीव्र पार्दै प्रहरीले थप कडाइ गरी कारवाही थालेको छ ।

मंगलबार मात्रै चार हजारभन्दा बढीलाई कारवाही गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १५५ र रातमा ४५ स्थानमा जाँच चौकीमार्फत आम नागरिकको अत्यावश्यक सेवा र कामलाई सहजीकरण गर्दै उपत्यकाको मुख्य नाकाहरू, मुख्य सडक तथा भित्री सडकमा ट्राफिक प्रहरी परिचालन गरी जाँच गर्दै आएको छ ।

उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने तीन हजार ६४७ दुईपाङ्ग्रे र ४६० चारपाङ्ग्रे गरी जम्मा चार हजार १०७ सवारी नियन्त्रणमा लिई चालकलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । प्रहरीले लकडाउन खुकुलो भन्ने गलत कुराको पछाडि नलाग्न, कुनै पनि हल्ला, भ्रममा नपर्न र लकडाउनको पूर्ण पालना गर्न तथा उच्च सुरक्षा सतर्कता अपनाउन महाशाखाका प्रमुख ढकालले अनुरोधसमेत गरे ।

लकडाउनमा बिना काम बाहिर ननिस्कन र घरमै बसेर कोरोनाबाट बच्न गरिएको आग्रह लत्याउँदै बिना काम बजार घुम्न, आफन्त भेट्न र रमाइलो गर्न निस्कने र पास नलिई सवारी चलाउने गरेको पाइएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार काठमाडौँ उपत्यकामा चैत ११ गतेदेखि मंगलबारसम्म लकडाउन उल्लङ्घन गर्ने ६१ हजार ४०६ सवारी साधन नियन्त्रणमा लिएर चालकलाई कारवाही गरिएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *