हिसाबको चिन्ता नगरौं, अहिले कोभिड-१९ को चिन्ता गरौंः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणमा खरिद गरिएका स्वास्थ्य सामग्रीमा कुनै पनि अनियमितता नभएको जनाएका छन्। प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि अनियमितता भएको भए कारबाही गर्ने पनि बताए।

उनले भनेका छन्, ‘जेमा पनि अनियमितता भयो भनेर लाञ्छित गर्ने खालका प्रवृत्ति पनि देखिन्छ। म त्यो प्रवृत्तिमा नबग्न आग्रह गर्न चाहन्छु। कहीँ कतै यदि अनियमितता भएको छ भने यस सरकारले कुनै प्रकारको अनियमितता, अपारदर्शिता भ्रष्टाचार जस्ता कुराहरू सहँदैन। त्यस्तोमा कारबाही गर्छ नै। छानबिन गरेर कानुनको कठघरामा उभ्याउँछ। दोषी पाइएमा दण्ड गर्छ नै। म यसमा ढुक्क रहन आश्वस्त पार्न चाहन्छु।’

प्रधानमन्त्री ओलीले सांसदहरूले खर्च भएको १० अर्ब कहाँ गयो भन्ने प्रश्नमा भने, ‘केन्द्रले प्रदेश र स्थानीय तहमा रकम पठाउँछ। दिनैपिछे लेखा परीक्षण हुँदैन। अहिले कामका बेला हामी लेखा परीक्षणमा बढी केन्द्रित पनि भएका छैनौँ। कममा बढी केन्द्रित भएका छौँ। रकम पठाएका छौँ। हामीले यस्तो परिस्थितिमा अविश्वास गरिहाल्नु पर्ने अवस्था पनि छैन। हाम्रा प्रदेश र स्थानीय तहहरू यस्तो पारिस्थितमा भ्रष्टाचार गर्न पर्खेर बसेका थिए, अलिकति रकम पाउने बित्तिकै तिनले भ्रष्टाचार नै गरे होलान् भनेर आशंका गरिहाल्नु पर्खे स्थिति होइन।’

उनले राज्यका सबै निकाय र तहबाट असाधारण तहबाट काम भइरहेको बताए। कोरोना रोकथाम र नियन्त्रणमा विश्वासबाट काम थालिएको उनले बताए। रकम खर्च भएको विषयमा आशंका गर्ने ठाउँ नभएको प्रधानमन्त्रीको भनाइ छ। उनले हर हिसाब आफ्नो प्रक्रियाबाट आउने पनि बताए। उनले भनेका छन्, ‘हरेक कुराको हिसाब किताब रुजुबेरुज सबै आउँछ। आन्तरिक लेखा परीक्षण त्यो पनि भइरहेको हुन्छ। त्यसको पनि हिसाब आउँछ। त्यस कारण हिसाबको चिन्ता नगरौँ, अहिले कोभिड-१९ को चिन्ता गरौँ।’

उनले कहीँ अनियमितता भएको छैन भनेर आफूले दाबी नगरेको पनि बताए। तर अहिलेको राष्ट्रिय संकटविरुद्ध जुध्नुपर्ने बेलामा त्यस्तो खालको स्थिति आफूले नदेखेको उनले बताए। प्रधानमन्त्री ओलीले भनेका छन्, ‘कहीँ कतै अनियमितता भएको हुनै सक्दैन म दाबी गर्दैन। तर त्यस्तो भएको छ भन्ने खालको स्थिति म देख्दिन।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *